News

विद्यालय भवन निर्माण सम्पन्न नहुँदै रकम भुक्तानी, खाता रोक्का गरेको जिशिअको दावी

दीपबहादुर घर्ती

विद्यालय भवन निर्माण सम्पन्न नहुँदै रकम भुक्तानी, खाता रोक्का गरेको जिशिअको दावी

साउन - ३ । जिल्लाको एक विद्यालय भवन निर्माणको काम सम्पन्न नहुदै काम सम्पन्न गर्ने सर्तमा बील भुक्तानी भएको खुलासा भएको छ । काम सम्पन्न गर्नका लागि धेरै दिनसम्म सौदाबाजी भएपछि बील भुक्तानी भएको खुलासा भएको हो ।

छेडागाड नगरपालीका–८ रौतनगाउँमा रहेको पशुपति आधारभुत विद्यालयको दुई कोठे भवनको निर्माण कार्य सम्पन्न नगरेरै जिल्ला शिक्षा कार्यालयवाट बील भुक्तानी भएको स्थानियहरुले आरोप लगाएका छन् । बील भुक्तानीका लागि कार्यालयले विद्यालयको नाममा चेक काटी सकेको भएता पनि भवन निर्माणको काम सम्पन्न नहुदा सम्मको लागि विद्यालयको खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहको भनाई रहेको छ ।

१६ लाखमा दुई कोठे भवन निर्माण गर्ने सम्झौता गरेको पशुपति आधारभुत विद्यालय, रौतनगाउँले जिल्ला शिक्षा कार्यालयवाट ७ लाख रुपैया पेश्कि लिएर हाल सम्म ट्रस सामाग्री खरिद तथा ढुवानी गर्नुका साथै ट्रसको पिल्लर मात्र उभ्याएको टेलिफोनद्धारा रामबहादुर खत्रीले जानकारी दिए । ट्रस सेटिङ गर्ने काम बाहेकका अन्य सवै काम गर्न बाँकी रहेको नाम उल्लेख नगर्ने सर्तमा रौतनगाउँकै एक स्थानीयले वताए । विद्यालय भवन निर्माणको सबै काम पूरा नगरेर जिल्ला शिक्षा कार्यालयले अन्तिम किस्ता भुक्तानी गर्न नहुने उनले जिक्किर गरे ।

अन्तिम किस्ताको रुपमा रहेको ९ लाख रुपैया विद्यालयको खातामा राखिएको भएता पनि खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । माथिवाट आएको पैरोले भवन निर्माणको काममा ढिलाई भएको प्राविधिक प्रकाशराज सिंहले वताए । प्राविधिक सिंहले यहि साउन १५ गते भित्रै भवन निर्माणको सवै काम सम्पन्न हुने जिक्किर गरेका छन् । यो समाचार तयार पार्दासम्म विद्यालय प्रअ खुम्म कुमारी बुढालाई टेलिफोन सम्पर्क गर्न खोज्दा टेलिफोन उठाएकी छैनन् ।

आर्थिक बर्ष २०७३/०७४ मा विद्यालय क्षेत्र सुधारका लागि ३० करोड २७ लाख ७५ हजार स्वीकृत बजेटवाट कतिपय क्रमागत भवन निर्माण, नयाँ यस बर्षका लागि दुई कोठे ५० वटा भवन, ४ कोठे ४ वटा, ४ वटा शौचालय रहेको जिल्ला शिक्षा कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला शिक्षा कार्यालय, जाजरकोटले आव.२०७३/०७४ मा विद्यालय क्षेत्र सुधारका लागि ३० करोड २७ लाख ७५ हजार स्वीकृत बजेट मध्ये २९ करोड ७४ लाख ७ सय ५१ रुपैया खर्च गर्न सफल भएको बित्तिय प्रगति देखाएको छ ।

जिल्ला शिक्षा कार्यालय, जाजरकोटले दिएको जानकारी अनुसार आव.२०७३/०७४ मा प्राविधिक धार तर्फ, जिशिका, एसईइ परिक्षा सञ्चालन, आधारभुत तहको तलव, मावि तहको तलव, शिक्षक सेवा खर्च, अनौपचारिक शिक्षा, सेवा निवृत्त सुविधा, विद्यालय क्षेत्र सुधार, पुँजीगत जस्ता शीर्षकहरुमा स्वीकृत बजेट ८९ करोड ३ लाख ६४ हजार ५ सय मध्ये ८६ करोड २९ लाख ४७ हजार ४ सय २६ रुपैयाँ खर्च गर्न सफल भएको छ ।

आर्थिक बर्ष २०७३/०७४ मा जिल्लाका २ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा शिक्षा मन्त्रालय तथा शिक्षा विभागको छनौटमा पार्न सफल भएको, जिल्ला शिक्षा कार्यालयले ४५ वटा नमुना विद्यालय छनौट गरि आईसिटी कलासका लागि प्रयोग सामाग्री खरिदको लागि अनुदान दिन सफल भएको, शैक्षिक सुधार बर्ष घोषणा गरि शैक्षिक बिकासका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन, जिल्लाका बिभिन्न ठाउँमा शैक्षिक शिवीरहरु सञ्चालन गर्न सफल भएका बिषयलाई यस बर्ष कार्यालयले गरेका उपलब्धका रुपमा जिल्ला शिक्षा कार्यालयले लिएको छ ।

विशेष