व्यापार

दैनिक पाँच हजार लिटर दूध बेच्दै बाग्लुङका कृषक

दैनिक पाँच हजार लिटर दूध बेच्दै बाग्लुङका कृषक

 

साउन - ३ । आर्थिक वर्ष २०७३/७४ मा बागलुङमा २५ हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको छ । पशु विकास अधिकृत निलकण्ठ शर्माका अनुसार गत आवको तुलनामा तीन दशमलव २० प्रतिशतले दूधको उत्पादन बढेको छ ।

गाई र भैँसीमा नश्ल सुधारका साथै व्यावसायिक पशुपालन बढेपछि दूधको उत्पादन बढेको हो । स्थानीय र उन्नत जातको भैँसीको दूधको मात्रा एउटै रहे उन्नत जातको गाईको दूधको मात्रा बढेको शर्माले बताए ।

“दैनिक पाँच हजार लिटर दूधको कारोबार हुने गरेको छ,” उनले भने – “दैनिक एक हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुन्छ ।”

वार्षिक रु दुई करोड ५० लाख बराबरको दूध किसानले बिक्री गर्ने गरेका छन् । उत्पादन बढाउन कार्यालयले दूध उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले किसानलाई नश्ल सुधार, कृत्रिम गर्भाधान, गोठ सुधार कार्यक्रमका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

व्यावसायिक ‘फार्म’ चलाउने किसानलाई अनुदानसमेत दिने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गोपाल गिरीले बताउनुभयो । व्यावसायिक पशुपालन गर्ने क्रम बढेपछि दूध उत्पादन बढेको उनको भनाइ छ ।

दूधको उत्पादन बढेसँगै बजारलाई पनि व्यवस्थित गर्नुपर्ने बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कँडेल बताए । “दूधले बजार नपाउने समस्या पनि देखिएको छ,” उनले भने । उनले वितरणलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । अहिले जिल्लामा प्रतिलिटर रु ८० मा दूध बिक्री हुँदै आएको छ ।

जिल्लाको बलेवा, गलकोट, कुश्मीसेरा, बिहुँ, ताराखोला, बुर्तिबाङल दूध उत्पादन बढी हुने ठाउँ हुन् । मासु र अण्डामा समेत बागलुङलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको डा गिरीको भनाइ छ ।

विशेष