News मुख्य समाचार

उपत्यकाका यी रुटमा चल्न सक्छ ‘स्काई रेल’, निर्माण गर्न २ वर्ष लाग्ने (तस्बिरसहित)

उपत्यकाका यी रुटमा चल्न सक्छ ‘स्काई रेल’, निर्माण गर्न २ वर्ष लाग्ने (तस्बिरसहित)

 

साउन - ३ । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराए । कम्पनीका अध्यक्ष पाण्डेले तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने बताए ।

त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भूबाट बौद्धसम्म पनि ‘स्काई रेल’ सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ । ‘मेट्रो रेल’को तुलनामा ‘स्काई रेल’ सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने छ ।

प्रतिवेदनअनुसार कामपामा सञ्चालन गरिने रेलमा तीन वटा डिब्बा मात्र राख्न सकिने भए पनि सामान्यतया एउटा रेलमा आठ वटासम्म डिब्बा राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २०० यात्रु अट्न सक्छन् । चिनियाँ कम्पनी विवाइडीसँगको सहकार्यमा गरिएको सम्भाव्यता अध्ययनमा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ । कामपा र साइमिक्सबीच ‘स्काई रेल’ सञ्चालन सम्भाव्यता अध्ययनका लगि गत माघ २६ गते सम्झौता भएको थियो । 

विशेष