३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी
साउन ३ । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन ।
१७ औं पटकमा बल्ल छोरा जन्मियो । परिवारमा खुसी छायो । अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन् । जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन । ुमलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ । म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र १ु देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उहाँको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।
देउता खुसी पार्न यातना
कलिलै उमेरमा विवाह र निरन्तर गर्भवती हुनुको पीडा खपिसाध्य छैन । त्यसमाथि देउता खुसी पार्ने नाममा दिइने यातनाले देवकी शारीरिक र मानसिक रूपमा कमजोर बन्दै हुनुहुन्छ । सुत्केरी भएको चार दिनमा उहाँलाई गोठको कुनाबाट घरको कुनामा सारिन्छ । गर्भवती भएको ६ महिनादेखि बच्चा पाएको २२ दिनसम्म उहाँलाई परिवारका कुनै सदस्यले छुँदैनन् । भुटेको भात खान पाउनुलाई पनि भाग्यमानी सम्झिनुपर्छ । पीडाका बेला आफ्ना मान्छे झन् टाढा हुँदा देवकीको मन भक्कानिन्छ । ३५ वर्षमा १८ पटक सुत्केरी भएकी देवकीको आँखा नरसाएका दिन छैनन् । गर्भवती र सुत्केरीलाई देवीदेवताको मन्दिर भएको बाटो नै हिँड्न दिँदैनन् स्थानीय । त्यो पीडा देवकीले निरन्तर भोग्नुपरेकै छ किनकि धेरैजसो स्वास्थ्य संस्थासमेत देवीदेवताकै आसपास छन् ।
गर्भवती होस् या सुत्केरी, पर्याप्त पोषिलो र तागतिलो खाना खानुपर्छ । त्यसले आमा र बच्चा दुवैको जीवन स्वस्थ बनाउँछ । तर, देवकीलाई दूध, दही, हरियो सागसब्जी, फलफूल, गेडागुडीको झोलजस्ता पोषिलो खाना दिइँदैन । ुबच्चा मरेको मर्यै भए । अस्पताल जाँदा पनि केही भएन । वैद्यकहाँ धाउँदाधाउँदा बल्ल एउटा छोरो जन्मियो । आमालाई दूध(दही, हरियो(परियो दियो भने त्यो पनि मर्छु, पति घनश्यामले भन्नुभयो, ुपाप हुने काम गर्नुहुन्न । यो हाम्रो समाजको नियम हो ।
देवकीजस्तै सुदूरपश्चिमका अधिकांश सुत्केरीले देउता खुसी पार्ने नाममा यस्तो यातनामा बाँच्नुपरेको छ । धेरै सुत्केरी र नवजात शिशुको ज्यान जाने गरेको छ । म धन्न बाँचेको छु । मेरा धेरै छिमेकी यस्तो बेला मरेका छन् । बच्चा त कति खेर जान्छन् कति, देवकीले भन्नुभयो ।
देवकीको भनाइमा सत्यता भएको बैतडी जिल्ला अस्पतालका प्रमुख एवं सुत्केरी रोग विशेषज्ञ डा। गुणराज अवस्थी बताउनुहुन्छ । ुसुत्केरीलाई श्रीमान्ले समेत छुन्नन् । जतिबेला सबैभन्दा धेरै माया र हेरचाह गर्नुपर्ने हो, त्यतिबेलै सुत्केरीसँग टाढा भाग्छन् उनीहरू । त्यस्ता मानिससँग कैयौंपटक मेरो झगडा नै परेको छु, डा। अवस्थीले भन्नुभयो, ुहाम्रा स्वास्थ्यकर्मी एक्लै हुन्छन् । परिवारका सदस्यले बच्चा र सुत्केरीलाई छुन नमान्दा बच्चालाई न्यानो लुगा लगाउँदा, सफा गर्दा, आमाको दूध खुवाउँदा सहयोग गर्ने कोही हुन्नन् ।
छोरी हुँदा झनै यातना
बैतडीकै श्रीकोटकी पार्वती ठगुन्ना छोराका लागि २७ वर्षको उमेरमा १० पटकसम्म गर्भवती बनिसक्नुभएको छ । छोरी मात्रै जन्माउँदा परिवारले आफूलाई दूधसमेत खुवाउन नदिएको ठगुन्नाको गुनासो छ । सुत्केरी हुँदा कैयौं रात भोकै बस्नुपरेको र राम्रो सुत्ने ठाउँ नहुँदा बिरामी परेको उहाँको भनाइ छ । गर्भवती भएको ६ महिनापछि उहाँले छोएको पानी परिवारलाई चल्दैन । घन्टौं एक्लै छट्पटाएर पार्वतीले छोरीहरूलाई जन्माउनुभएको छ । ुगर्भवती र सुत्केरी हुँदा हीनताबोध हुन्छ परिवारको व्यवहारले । कहिलेकाहीँ त भीरबाट फालहालुँजस्तो लाग्छ, पार्वतीले भन्नुभयो ।
स्वास्थ्यकर्मीमाथि पनि विभेद
सुत्केरीलाई छुनुपर्ने डरले अधिकांश परिवार बर्थिङ सेन्टरु सम्म पनि लैजाँदैनन् । लग्नैपर्ने भयो भने स्वास्थ्यकर्मीको जिम्मा लगाएर कुलेलम ठोक्छन् । कतिपयले त अस्पतालमा बच्चा जन्माउन सहयोग गर्ने स्वास्थ्यकर्मीलाई सम्म छुँदैनन् । जिल्लाको महाकाली स्वास्थ्यचौकी इन्चार्ज पूर्णबहादुर बरालीले सधैँजसो छुवाछुतको सामना गर्नुपरेको छ । ुव्यथा लागेपछि गर्भवती एक्लै झोला बोकेर अस्पताल आउँछन्, त्यो पनि घन्टौं हिँडेर, सुत्केरीलाई छुनुपर्छ भन्ने डरले परिवारका कोही पनि आउँदैनन् । घर जाँदा पनि बच्चा, झोला सबै बोकेर कमजोर बनेकी सुत्केरीलाई एक्लै पठाउँदा हामीलाई नराम्रो लाग्छ ।
भयमा महिला
सुत्केरी भएपछि पाउने यातनाले आजित भए पनि यहाँका महिला त्यसको विरोधमा उत्रिन सक्दैनन् । विरोध गर्यो भने उल्टै परिवारबाट निकालिने, अपहेलित हुने वा श्रीमानले अर्को विवाह गर्ने भय उनीहरूमा छ । देवकी आफूमाथिको विभेदविरुद्ध उभिन नसक्ने बताउनुहुन्छ । ुसबैले देउता रिसाउँछन् भनेको सुन्दा आफूलाई पनि त्यस्तै हो कि झैं लाग्छु, देवकी भन्नुहुन्छ ।
स्थानीय महिला अधिकारकर्मी देवु ठगुन्नाले यस्तो यातना महिला आफैँलाई सहने बानी पर्दा अन्त्य हुन नसकेको बताउनुहुन्छ । यहाँ हरेक घरका एक जना सदस्य धामी हुने चलन छ । गर्भवती वा सुत्केरीमाथि हुने विभेदविरुद्ध तिनै महिला बोल्न सक्दैनन् । चुप बस्नुपर्ने बाध्यता छ उनीहरूको देवुले भन्नुभयो
चेतना अभाव
सुदूरपश्चिममा अधिकांश जिल्लामा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सरकारी र गैरसरकारी संस्थाका दर्जन बढी चेतनामूलक कार्यक्रम सञ्चालित छन् । ती कार्यक्रमको पहुँचमा यस्ता परिवार पुग्न सकेका छैनन् । डा। अवस्थी दीर्घकालीन प्रभाव पार्ने गरी कार्यक्रम सञ्चालन हुन नसक्दा र विद्यालय तहमा प्रजनन स्वास्थ्यबारे अध्ययन नहुँदा यस्तो यातना कायम रहेको बताउनुहुन्छ ।अन्नपूर्ण