विदेश मुख्य समाचार

जापानमा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ३४ पुग्यो

जापानमा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ३४ पुग्यो

साउन ३ । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ ।  गत जुलाई ५ तारिखका दिन भिषण र अविरण बर्षापछि आएको बाढी पहिरोमा परी अरु ७ जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

सोमबार मात्रै थप २ जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको हो ।  बाढी पहिरो प्रभावित क्षेत्रमा हराईरहेकाहरुको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरुको काठ निकाल्न सोमबार पनि २७ हजार जना जापानको प्रतिरक्षा बल (एसडीएफ) र अग्नि नियन्त्रक खटिएका छन् ।

त्यसैगरी झण्डै ९ हजार जना स्वयमसेवकहरु पनि बाढी पहिरोले क्षति पुर्याएको ठाँउमा सहयोगका लागि क्रियाशिल रहेको अधिकारीहरुले जनाएका छन् ।  प्रकोप प्रभावित क्षेत्रमा सोमबार उच्च तापक्रम रेकर्ड गरिएको छ । स्थानीय असाकुरा र हिटा भन्ने दुई ठाँउ निकै गर्मी हुने ठाँउ मानिन्छन् ।

ती दुई ठाँउमा सोमबार क्रमशः ३४.८ र ३६.२ डिग्री सेल्सीयस ताप मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

विशेष