फिलिपिन्सका राष्ट्रपतिमाथि सशस्त्र हमला, चार अंगरक्षक घाइते
मनिला, ४ साउन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ । सो हमलामा परी उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उनलाई नै लक्ष्यगरी सो हमला भएको हो ।
तर सो सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी रहेकाले ठूलो दुर्घटना टरेको समाचारमा जनाइएको छ । राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो । गोली लागेर उनको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ । फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले सो हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो संख्यामा सवारी खटाइएको थियो । तर हमलाकारीले भने राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । गोली लागेर चार जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिष्ट विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए । सोही विरोधस्वरुप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ । एकजना सैनिक जर्नेलले उक्त हमला कम्युनिष्ट बिद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरुप यो हमला गरिएको बताएका छन् । एएफपी