News देश

जंगली जनवारको आक्रमणबाट १४ जनाको ज्यान गयो

जंगली जनवारको आक्रमणबाट १४ जनाको ज्यान गयो


साउन ६ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

जंगली जनावरको आक्रमणबाट गत आर्थिक वर्षमा यस क्षेत्रमा १४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये सबैभन्दा बढी गैँडाको आक्रमणबाट सातजना, हात्तीको आक्रमणबाट पाँचजना र बाघको आक्रमणबाट दुई जनाले ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० जना घाइते भएका छन् । गैँंडा, हात्ती, बाघ, बँदेल, गोहीलगायत जनावरले उनीहरुलाई आक्रमण गरेको थियो ।

यसैगरी उक्त अवधिमा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न र दिसापिसाब गर्न जाँदा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । साँझ घरबाट बाहिर जाँदा बाटोमा दुई जना र खेतबारीमा काम गर्न जाँदा दुई जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको जनाएको छ ।

हात्ती प्रजनन् केन्द्रमा जंगली हात्तीको आक्रमणबाट एक भारतीय पर्यटकको मृत्यु भएको थियो । घरमै बसिरहेको बेला पनि जंगली जनावरले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको छ । यो तथ्याँकलाई हेर्दा मानवीय त्रुटीका कारणले धेरैको ज्यान गएको देखिन्छ ।

आर्थिक वर्ष २०७२÷७३ मा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकालाई रु पाँच लाख क्षतिपूर्ति र घाइते भएकालाई रु एक लाख सम्म उपचार खर्च दिने व्यवस्था निकुञ्जको छ । दुबै क्षतिपूर्ति रकमलाई अहिले दोब्बर बनाइएको छ ।

गत आर्थिक वर्षमा क्षतिपूर्तिवापत निकुञ्जले रु ९४ लाख २२ हजार ३१ रकम वितरण गरेको थियो । गत आर्थिक वर्षमा वन्यजन्तुले ९४ परिवारको घरपालुवा जनावर मारेर क्षति पु¥याएको थियो भने ३२० परिवारको अन्नबाली नष्ट गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले अनधिकृत रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश गरेकै कारण धेरै जनधनको क्षति वन्यजन्तुबाट भएको बताउनुभयो । जथाभावी रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश नगरेमा र सावधानी अपनाउन सकेमा यस्ता दुर्घटना न्यून हुने पनि बताए ।

९५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र ७३० वर्ग्किलोमिटरमा फैलिएका छन् । जहाँ करिब तीन लाख जनसंख्या बसोवास गर्दछन् । उनीहरु घाँस, दाउरालगायत वनपैदावारका लागि मध्यवर्ती क्षेत्रमा आश्रित छन् ।

पछिल्लो समय दुर्लभ वन्यजन्तुको संख्या बढ्दै गएकाले पनि मानवीय क्षतिका घटना बढेको अनुमान छ ।

विशेष