विदेश

टर्कीमा गएको भूकम्पमा परी ३६० जना घाइते

टर्कीमा गएको भूकम्पमा परी ३६० जना घाइते

 

साउन - ६ । टर्कीको प्रमुख रिसोर्ट बोदरुम नजिकै आएको भूकम्पमा परी कम्तीमा ३६० जना घाइते भएका छन् । टर्कीको एगेन नजिकै ६.७ म्याग्नीच्युडको भूकम्प गएको टर्कीका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिए ।

स्वास्थ्य मन्त्री अहमेट डेमिर्कानले रिसोर्टमा ३५८ जना रहेकोमा २७२ जनालाई एम्बुलेन्समा अस्पताल लगिएको बताउनु भयो । अरु भने आफ्नै घर गएको पनि उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री डेमिर्कानले २५ जनालाई शरीरका विभिन्न भागका हाड तथा मांसपेशीमा गहिरो चोटका कारण उपचारका लागि अहिले पनि अस्पतालमा रहेको जानकारी दिए । तर उनीहरु खतरामुक्त रहेकोे उनले स्पष्ट पारे ।

रातभरी आएको भूकम्पका क्रममा डराएर भवनका झ्यालहरुबाट हाम फाल्दा उनीहरु घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालको भवन पनि क्षतिग्रस्त भएकाले वरिपरी राखेर उनीहरुको उपचार भइरहेको जिल्लाका गभर्नर बेकिर यिल्माजले जानकारी दिए ।

उनले भूकम्पका कारण घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरे । कोसमा रहेको ग्रीक टापुमा एक जना स्वीडेन नागरिक र एक जना टर्कीका नागरिकको मृत्यु भएको छ ।

टर्कीका विदेशमन्त्रीले स्थानीय बाणिज्य दूतावासले उनीहरुको मृत्यु भएको पुष्टि गरेको जानकारी दिएका छन् । उनले मृतकका परिवारजनसँग सम्पर्कको प्रयास भइरहेको पनि बताए । अर्को एक टर्कीका नागरिक सिकिस्त घाइते रहेको पनि बाणिज्य दूतावासले जनाएको छ ।

ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तव्यको रूपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको हो । टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०.३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ ।

गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए ।

विशेष