विदेश

इजरायली पूर्व प्रधानमन्त्री अल्मर्ट जेलमुक्त

इजरायली पूर्व प्रधानमन्त्री अल्मर्ट जेलमुक्त

असार १८ । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त भएका छन् । उनलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उनी भ्रष्टाचारको मुद्धमा जेलमा रहेका थिए ।

जमानीमा मुक्त भएका उहाँको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ । उनी इजरायलका पूर्व प्रधानमन्त्रीको हैसियतमा जेलमा बस्ने पहिलो नेता हुन् । उनलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिँदा त्यहाँ ठूलो सङ्ख्यामा सम्वाददाता उपस्थित भएका थिए ।

तर उनले सम्वाददाताहरुलाई प्रतिक्रिया दिन मानेनन् । उनी जेलबाट बाहिर निस्किदाको तस्बिर लिन कैयौँ सम्वाददाताहरु बिहानै त्यहाँ पुगेका समाचार समितिहरुले जनाएका थिए ।कालो टिसर्ट लगाएर बाहिरिएका उनले सम्वाददाताहरुले प्रतिक्रियाका लागि गरेको सङ्केतको वास्ता गरेनन् र सरासर अघि बढे – समाचारमा उल्लेख छ ।

एकहत्तर बर्षीय अल्मर्ट सन् २००६ देखि २००९ सम्म इजरायलको प्रधानमन्त्री भएका थिए । उनीमाथिको भ्रष्टाचारको आरोप प्रमाणित भएपछि थुनामा राखिएको हो । उनलाई सन् २०१६ को फेब्रुअरीमा जेल चलान गरिएको थियो । उनलाई अदालतले २७ महिनाको जेल जिवनको सजाय सुनाएको थियो ।

तर जेल बस्नुपर्ने बाँकी अवधिका लागि उनले अब घरमै बस्नेगरी जमानी प्राप्त गरेका छन् । यसबाट उनको बाँकी जेल बस्नुपर्ने अवधिमा एक तिहाई कमी आएको समाचारमा उल्लेख छ ।

जेल जिवनमा कटौती गरी थुनुवाहरुलाई केही समय मिनाहा दिने बोर्डले उनीमाथिको अपराध त्यति गम्भीर प्रकृतिको नरहेको र घरैमा बसेर पनि पुनस्र्थापना केन्द्र सरह ब्यवहार र आचरणमा परिवर्तन ल्याउन आचरण सुधारका क्रियाकलाप गराउन सकिने भएकोले उनलाई जमानीमा मुक्त गरिएको बताएको छ ।

Olmert

विशेष