News अर्थ मुख्य समाचार

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्ने गरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो अध्यक्षतामा बिहिबार बसेको ‘विदेशी लगानीकर्तालाई सहजीकरण गर्ने विषय’ को बैठकमा प्रधानमन्त्रीले नयाँ आयोजनालाई सरकारका निकायले सहयोगात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामीले अव आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएर अघि बढ्नुपर्छ” प्रधानमन्त्रीले भने, “त्यसको लागि लगानीमैत्री वातावरण बनाउने गरी तपाईँहरु सबैले सहयोगात्मक भूमिका खेल्नुहोस् ।”

प्रधानमन्त्रीले कतिपय तीन चार वर्षमा सजिलै सम्पन्न गर्न सकिने आयोजना पनि सरकारी झन्झटका कारण दशक लाग्ने गरेको छ भन्दै त्यसमा सहजीकरणका लागि ऐन संशोधन गर्न सरकार तयार रहेको बताए । “तपाईँहरुलाई काम गर्न ऐन कानुनले छेकेको छ भने संशोधन गरौँ’ प्रधानमन्त्रीले भने, “तर आयोजनाहरुको गति अब बढाउनुप¥यो । ”

प्रधानमन्त्रीले जलस्रोतबाट लाभ लिएर मुलुकको आर्थिक वृद्धि उच्च राख्न सकिने धारणा राख्दै सोहीअनुसारको नीति बनाउन पनि निर्देशन दिए । “जलस्रोतको धनी हाम्रो मुलुकमा बिजुली बेचेर पनि आर्थिक वृद्धि गर्न सकिन्छ । ” त्यसैले बिजुली उत्पादनमा सरकारले लगानीकर्ता मैत्री ऐन÷कानुन र वातावरण पनि बनाउनुपर्छ ।”

बैठकले लगानी बोर्डले ल्याएको लगानीकर्तालाई उपलब्ध गराइने जमिनसम्बन्धी कार्य्विधि संशोधन गर्न १५ दिनभित्र मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ ।
बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, परराष्ट्र सचिव, वन सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायतको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

विशेष