व्यापार

गाइपालेर दैनिक ३० लिटर दुध बेच्दै

गाइपालेर दैनिक ३० लिटर दुध बेच्दै


साउन ६ । पदमपुर क्षेत्रमा वन र वन्यजन्तुको संरक्षणका लागि गाईपालनमा अनुदान दिन थालिएको छ ।

स्थानीयको वैकल्पिक आयआर्जनको स्रोतको विकास गरी वनजंगलमा आश्रित हुनुपर्ने अवस्था रोक्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । साना किसानलाई अहिले यहाँ गाई र गोबर ग्यासमा अनुदान दिइएको छ ।

थाङखोला सामुदायिक वन क्षेत्रका साना किसानलाई यसरी उक्त कार्यक्रममा समावेश गरिएको हो । पहिलो चरणमा २७ वटा र दोस्रो चरणमा ४७ परिवारलाई गाईपालनका लागि सहयोग गरिएको छ । हरियो वन कार्यक्रमको सहयोग तथा जिल्ला वन कार्यालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष र थाङखोला सामुदायिक वनले यहाँ उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

गाईपालनसँगै उनीहरुलाई गोबरग्यास प्रयोगमा समेत प्रेरित गरेर जैविक विविधता संरक्षणमा योगदान दिन कार्यक्रम गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनीहरुकै मागअनुसार यहाँ कार्यक्रम चलाइएको हो । उनका अनुसार मुख्यगरी जंगलमा दाउरा खोज्ने चलनलाई निरुत्साहित गरी घरमै आयआर्जन हुने र दाउरा लिन जानु नपर्ने भएपछि जंगल जोगिने भएकाले गाईपालन र गोबरग्यासमा सहयोग गरिएको हो ।

उपसमितिका संयोजक नरबहादुर श्रेष्ठका अनुसार त्यहाँ ७४ वटा गाई वितरण गरिएको छ । दुईवर्षदेखि सञ्चालित सो कार्यक्रमका कारण अधिकांशको घरमा गोबरग्यास जडान गरिएको छ । अहिले स्थानीयवासी जंगल जान छाडेका छन् । उनीहरुलाई पहिलो चरणमा गाई खरिदका लागि प्रति परिवार रु ४५ हजार सहयोग गरिएको छ ।

कोषका कार्यक्रम सहायक परमानन्द गर्ग गाई वनजंगलको संरक्षणका लागि र साना किसानलाई वैकल्पिक आम्दानीमा सहयोग पु¥याउन कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ । दोस्रो चरणमा गाईलाई परेको मूल्य बराबर सहयोग गरिएको छ । सोही कार्यक्रमबाट गाई खरिद गर्नुभएका कालिका नगरपालिका–२ पदमपुरका महेन्द्र गुरौ दाउरा खोज्न नपरेकामा खुसी छन् । दूध बेचेरै अर्काे गाई थप्नुभएको छ ।

स्थानीय जलियाकुमारी महत्तोले रु ७० हजार अनुदान पाएपछि अहिले आम्दानीको स्रोत नै गाई भएको छ । अहिले उनी दैनिक ३० लिटर दूध बेच्दै आउनुभएको छ ।

“दाउरा खोज्न जंगल जानु परेको छैन,” उहाँले भन्नुभयो । सामुदायिक वनले बीमासमेत गरिदिएकाले गाई मरेमा ९० प्रतिशत क्षतिपूर्तिसमेत पाउने भएकाले किसान खुसी छन् ।

विशेष