विदेश

ओसामा विन लादेनलाई गोली हान्ने अमेरिकी सैनिकको सनसनीपूर्ण खुलासा : दुई गोली लाग्दा ठिंग उभिरहे, तेस्रो गोलीमा मात्रै ढले

ओसामा विन लादेनलाई गोली हान्ने अमेरिकी सैनिकको सनसनीपूर्ण खुलासा : दुई गोली लाग्दा ठिंग उभिरहे, तेस्रो गोलीमा मात्रै ढले

ओसामा बिन लादेन यस्ता व्यक्ति हुन्, जसले विश्वकै सर्वशक्तिमान राष्ट्र अमेरिकालाई समेत लामो समय काबुमा पारे ।  २ मे २०११ मा पाकिस्तानको जलालाबादको एबोटाबादमा अमेरिकी सैनिक कमान्डोको कारबाहीमा परी उनी मारिए । लादेनको जीवन र मृत्युबारे कतिपय तथ्य अहिले पनि विवादास्पद छन् । यहाँसम्म कि उनी अमेरिकी सैनिकको विशेष कारबाहीमा मारिएपछि उनको शवबारे अनेक हल्ला चलेका थिए । लादेनमाथि कसले गोली चलाएको थियो भन्ने अहिलेसम्म पनि आधिकारिक कुनै बयान आएको थिएन । एक अमेरिकी नेभी सिल अफिसर रोबर्ट ओ निलले एक किताबमा आफ्ना तीन गोलीले लादेनको मृत्यु भएको दाबी गरेका छन् । नेभी सिलका ४ सयभन्दा बढी अभियानमा सामेल भएका रोबर्टले आफ्नो किताब ‘द अपरेटर’ मा लादेन घटनाबारे आफ्नो अनुभव सार्वजनिक गरेका हुन् । उनै रोबर्ट ओ निलसँग बीबीसीको आउट लुकमा अनु आनन्दले गरेको कुराकानीको अंश : 

११ सेप्टेम्बर २००१ मा जब न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा हमला भयो, त्यसबेला तपाईं कहाँ हुनुहुन्थ्यो ?

११ सेप्टेम्बर २००१ मा जब वल्र्ड ट्रेड सेन्टरमाथि हमला भयो, त्यसबेला म जर्मनीमा तैनाथ एक टोलीको सदस्य थिएँ र जर्मन स्पेसल फोर्ससँग तालिम चलिरहेको थियो । यो खबर बाहिर आउँदा म एक इमेल टाइप गरिरहेको थिएँ । हवाई हमलालाई मैले पनि अरू मानिसले जस्तै टेलिभिजनमा देखेको हुँ । केही बेरपछि यो हमलामा विश्वकै खतरनाक आतंकवादी संगठन अलकायदा र त्यसका मुख्य नेता ओसामा बिन लादेनको संलग्नता रहेको कुरा बाहिर आयो । मैले त्यसैबेला अब अलकायदासँग युद्ध हुने अनुमान गरिसकेको थिएँ । त्यसको १० वर्षपछि ओसामा बिन लादेन अमेरिकी सेनाबाट मारिए ।

 मे २०११ को त्यो अभियानबारे केही बताइदिनुहोस् न ?

यस अभियानका लागि देशका अलगअलग क्षेत्रबाट हामीलाई टोलीमा बोलाइएको थियो । हामीलाई त यस्तो लागिसकेको थियो कि केही ठूलै घटना हुनेवाला छ तर गर्न खोजिएको के हो भन्नेबारे हामीलाई पनि थाहा थिएन । तीन दिनपछि हामीलाई कुनै अभियानमा जाँदै छौं भन्ने थाहा भयो । जस्तो कि यो अभियानबारे हामी कसैलाई पनि भन्न सक्दैनथ्यौं । हामीलाई यो अभियान पूरा गर्न सक्छौं भन्ने पूरा विश्वास थियो तर साथै हामी फर्किएर आउन नसक्ने आशंका पनि सँगसँगै थियो । यसका बाबजुद पनि मैले यो अभियानमा जाने निर्णय गरँे ।

फर्किन सक्दैनौं भनेर सोच्नुको कारण के थियो ?

यसको कारण पाकिस्तान थियो, जससँग आधुनिक वायु सुरक्षा प्रणाली, राम्रो राडार, उच्च स्तरको सेना तयार थियो र साथैै हाम्रो हेलिकोप्टर उडाइदिन पनि सक्थ्यो । यदि हाम्रो हेलिकोप्टरको इन्धन समाप्त भएमा हामी पाकिस्तानी भूमिमा हुने थियौं । हामी असफल हुने अवस्था आउने आशंका पनि थियो । यसको कारण हामी यो स्पष्ट भएर गएका थियौं कि सम्भवतः हामी फर्किनेछैनौं । यी सबै कुराका बाबजुद हामीले चुनौतीलाई स्वीकार ग-यौं ।

अभियानमा जानुअघि कति लामो तालिम चलेको थियो र तपाईंले यो कसरी पूरा गर्नुभयो ?

यो धेरै विस्तृत थियो । यद्यपि हामीले आफ्नो करियरका क्रममा यस प्रकारका अपरेसन (कारबाही) बारे पनि तालिम लिएकै हुन्छौं । तालिम जतिसुकै खास र स्पेसल भए पनि हुने बेलामा जे हुनु छ भएर नै छाड्छ । किनकि केही कुरा यस्ता हुन्छन्, जो हामीले तयारी गरेको जस्तो हुँदैन ।

जब अभियान अन्त्य भयो, तब तपाईं घर पुग्दा कस्तो महसुस गर्नुभयो किनकि तपाईंलाई यो आशा कमै थियो ?

मिसनका क्रममा जब म या टिमका कोही अरू सदस्य आफ्नो घरमा कुरा गर्दथ्यौं, त्यसबेला हामी कोही पनि गुड नाइट नभनी गुडवाई भन्थ्यौं । हामी हाम्रो अभियानबारे हाम्रो परिवारलाई समेत केही भन्न सक्दैनथ्यौं । म जब मेरो परिवारसँग रेस्टुरेन्टमा गएँ तब आफ्नी छोरी खेलिरहेको देखर सोचेको थिएँ कि सायद म उनलाई खेलिरहेको अन्तिम पटक देखिरहेको छु ।

२ मे २०११ मा पाकिस्तानको एबोटाबादमा के भयो ? यसबारे धेरै बताइसकिएको छ । धेरैपटक यसबारे विवाद पनि भयो । यसबारे कुनै आधिकारिक धारणा पनि छैन । त्यस अभियानका क्रममा के भएको थियो ? तपाईं अफगानिस्तान फर्किनुभएको थियो र फेरि के भयो ?

म अफगानिस्तानमा थिएँ । हामीलाई फोनको माध्यमबाट यसको जानकारी दिइयो । त्यसबेला हामीमध्ये केही ‘ट्रेड मिल’ मा थियौं । हामीलाई यस अभियानमा जान भनिएको थियो । एडमिरलसँग कुरा भयो । उनले केही फिल्मसँग तुलना गरे । हामीले आआफ्नो घरमा फोन ग¥यौं र अभियानमा निस्कियौं । हामीलाई दुईवटा हेलिकोप्टरमा जाने जानकारी दिइयो । हामी पछि दुई हेलिकोप्टर छन् र यसका पछि दुई ब्याकअप हेलिकोप्टर छन् । यसपछि हामी एयरबेसबाट उड्यौं । बोर्डर हुँदै एक नदीमाथि पुगेपछि हामी बायाँ मोडियौं, फेरि दाहिने र हामी पाकिस्तानको सीमा क्षेत्रमा पुग्यौं । पाइलटले हामी पाकिस्तानमा भएको जानकारी गराए । हामीलाई त्यहाँ पुग्न ९० मिनेट लाग्यो ।

यस अभियानमा २३ नेभी सिल थिए र तपाईंहरू दुई हेलिकोप्टरमा हुनुहुन्थ्यो ?

हामी मुख्य अपरेसनमा सामेल थियौं । अर्को हेलिकोप्टर हामीलाई आधा बाटोमा इन्धन उपलब्ध गराउनका लागि थियो र यस्तै भयो । त्यो ९० मिनेट हामी एक अर्कालाई हेर्दै गयौं । केही आफ्नो आइप्याडमा लागे भने केही उँघिरहेका थिए । ९० मिनेटपछि हामी त्यो आधुनिक सहरमा थियौं, जहाँ रिसोर्ट र गल्फ कोर्स थियो । पाइलटले हामीलाई छतमा उतारे । हामी उत्रिनेबित्तिकै त्यहाँ रहेको ढोकालाई बमले उडाउने तयारी गर्न लागेका थियौं तर हामीलाई लाग्यो कि यो नक्कली ढोका हो । फेरि हामी अर्को ढोकालाई उडाउन चाहन्थ्यौं तर हामीले ढोका खोल्न भन्यौं । हामीले त्यसलाई खोल्यौं र भित्र पस्यौं । अब हामी ओसामा बिन लादेनको अड्डामा थियौं । मैले हाम्रो टिमका सदस्य कोठामा जाँदै गरेको देखिरहेको थिएँ, उनीहरू त्यहाँ रहेका महिला र केटाकेटीलाई अलगअलग स्थानमा जम्मा गरिरहेका थिए । हामी सबैलाई थाहा थियो कि कुनै पनि समय बम विस्फोट हुन सक्छ र हामी सबै मारिन सक्थ्यौं । तर हामी तीव्र रूपमा अपरेससनमा जुटिरह्यौं ।

अनि के भयो ?

हामीलाई कुनै महिलाले लादेन दोस्रो तलामा भएको बताइन् । उनको सुरक्षामा एक छोरा थिए । मसँग रहेका केही दायाँ र केही बायाँ बाटोलाई पन्छाउँदै अघि बढेँ । मसँग अघिअघि एक जना नेभी सिल कमान्डो थिए । म उनको पछि थिएँ । उसको अघि केही मानिस थिए । उनले अघिको पर्दा हटाए । अगाडि ओसामा बिन लादेन कोठामा हात उठाएर खडा थिए ।

हामीलाई थाहा छ कि यो काम क्षणभरमै भयो, तपाईंले कति गोली चलाउनुभएको थियो ?

मैले ओसामा बिन लादेनमाथि तीन गोली चलाएँ । दुई गोली चलाउँदा उनी ठाडै थिए र तेस्रो गोली चलाउँदा ढले । अगाडि उनकी पत्नी खडा थिइन् । उनको छोरा मेरो बायाँ छेउमा थिए । मैले उनीहरू दुवैलाई विस्तारामा लडाइदिएँ । तब बाँकी मेरा साथी पुगे । मैले उनीहरूलाई अब के गर्ने भनेर सोधें । उनीहरू विस्तारै हाँसे । हामीले त्यसपछि कोठा र आसपासको तलासी लियौं । त्यहाँ रहेका हार्डवेयर, पेनड्राइभ र अन्य इलेक्ट्रोनिक सामान जम्मा ग¥यौं । मसँग अरू तीन जना ती सामान लिएर बाहिर गए । त्यसपछि फेरि हामीले ओसामाको शवलाई बाहिर ल्यायौं । क्याप्टेन फिलिप त्यहाँ थिए । त्यसपछि त्यहाँबाट बाहिर जान टिमका सदस्यलाई जम्मा ग¥यौं । यस अपरेसनका क्रममा मेरो अघि जाने सैनिक अर्को समूहका थिए । उनीहरू सबै सैनिकले ओसामालाई कसले गोली चलायो भनेर सोधेका थिए । त्यसबेला मैले भने, ‘गोली मैले हानेको हो ।’ फेरि उनले भने, ‘मेरो परिवारको तर्फबाट तपाईंलाई धन्यवाद ।’

तपाईं एबोटाबादमा हुनुहुन्थ्यो । तपाईंहरूको हेलिकोप्टर दुर्घटनाग्रस्त भयो । फेरि कसरी बाहिर निस्कनुभयो ?

हामीसँग केही ठूला हेलिकोप्टर थिए, जुन हामी पछि ४५ मिनेटमा त्यहाँ पुगे । तीमध्ये एउटाले हामीलाई लिन आयो । जुन टोलीको हेलिकोप्टर दुर्घटनामा परेको थियो, उनीहरू त्यो हेलिकोप्टरमा चढे र अरू आआफ्नो हेलिकोप्टरमा फर्कियौं । हामी अफगानिस्तानको सीमा क्षेत्रतर्फ गयौं । हामीलाई यदि ९० मिनेटसम्म लगातार उड्न सकेमा सुरक्षित निस्किन सक्छौं भन्ने थाहा थियो । हामीले आफ्नो घडीमा ‘स्टेपवाच अन’ गरेका थियौं । सबै चुप थिए । कसैले केही बोलेका थिएनन् । यसपछि समय बित्दै गयो र पाइलटले हामी अफगानिस्तानको सीमा आइपुगेको जानकारी दिए ।

अफगानिस्तान पुगेपछि के भयो ?

त्यहाँ पुगेपछि हामीले ओसामा बिन लादेनको शवको लम्बाइ नाप्यौं । हामीलाई राष्ट्रपति ओबामाले नै यो चाहेको बताइयो । हामीसँग लम्बाइ नाप्ने टेप थिएन र हामीले ओसामाको शव नजिकै रहेको एक स्नाइपरबाट उनको लम्बाइको अनुमान लगायौं । त्यसपछि ओसामाको शरीरलाई अर्को बेसमा लगियो । त्यसपछि हामीले ओसामाको अड्डामा जे भेटेका थियौं, त्यसको अनुसन्धानमा एफबीआई जुट्यो । त्यसपछि ओसामाको शवलाई एक अमेरिकी नौसेनाको जहाजमा राखेर फारसको खाडीमा लगियो । मेरो फोन बज्न थाल्यो । भर्जिनिया, सेन्ट डियागो र वासिंगटनबाट फोन आउन थाल्यो । मेरा एक साथी ह्वाइट हाउसमा नै काम गर्दथे । उसलाई कसैले तिम्रो साथीले ओसामालाई मा-यो भन्ने जानकारी दिएको थियो । मेरो परिवार र मेरा साथीलाई मप्रति ठूलो गर्व अनुभूति भयो । जो स्वाभाविक हो ।

के तपाईंलाई यो अभियानपछि ‘म हिरो बने’ भन्ने लागेन ?

बिल्कुल लागेनँ । मेरा केही परिचित साथीभाइ थिए, जसले ११ सेप्टेम्बरको हमलामा ज्यान गुमाएका थिए । उनीहरूले आज पनि आफ्ना परिवार वा साथीभाइको अनुहार सम्झिरहेको कुरा फोनमा बताइरहेका थिए ।

तपाईंले नेभी सिल छाड्नुभयो र यो किताब लेख्ने निर्णय किन गर्नुभयो । तपाईंको यो निर्णयलाई नेभी सिलको गोप्यता कोड भंग गरेकोसमेत भनिएको छ । तपाईंका एक कमान्डरले खुलापत्र लेखेर नै आर्थिक लाभका लागि लेखेको आरोप लगाएका छन् नि ?

मैले जुन किताब लेखेको छु, त्यो ओसामा बिन लादेनविरुद्धको अन्तिम कारबाही केन्द्रित होइन । यो एउटा त्यस्तो मानिसको कहानी हो, जसलाई पौडिन समेत आउँदैन थियो । तर जो संयोगले नेभी सिलमा पुग्यो र आफ्नो अथक मिहिनेतले एक महत्वपूर्ण अभियानको हिस्सा बन्न पुग्यो । मैले यसबाट तपाईं अथक मिहिनेतबाट जे पनि गर्न सक्नुहुन्छ भन्न खोजेको हुँ । ओसामाविरुद्धको कारबाहीमा मेरो संलग्नता त्यसकै एउटा अंश मात्रै हो । जहाँसम्म कोडको कुरा छ, त्यो त्यसरी सार्वजनिक गरिएको छैन र मलाई थाहा छ कि गृहयुद्धबारे यस्ता पुस्तक लेख्नेहरूको समेत कमी छैन ।

-राजधानी दैनिकबाट

विशेष