व्यापार

आर्थिकस्तर उकास्दै ग्रामीण महिला

आर्थिकस्तर उकास्दै ग्रामीण महिला

 

साउन - ७ । मोरङ कटहरी–९ थलाहाकी रामा राजवंशीको परिचय अहिले फेरिएको छ । एक वर्षअघिसम्म सामान्य गृहिणीका रुपमा रहेकी उनी अहिले सफल व्यवसायी बनेकी छिन् । 

घर नजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले उनी मनग्य आम्दानी गरिरहेकी छिन् । करिब एक बिगाहा क्षेत्रफलको पोखरीमा उनले माछापालन व्यवसाय गरेकी छिन् । पोखरीबाट उत्पादित माछा नजिकैको बजारमा लगेर बिक्री गर्ने उनी आजभोलि घरमा पनि ग्राहक आउन थालेका बताउँछन् । 

शुरुमा पोखरीमा माछा हाल्ने पैसा पनि थिएन, पैसा नभएपछि व्यवसाय गर्ने सोच पनि बनाएकी थिएन्, उनी भन्छिन् – 'गत वर्षको असारमा गरिबी निवारण कोषबाट सस्तो ब्याजदरमा रु २५ हजार ऋण लिए, त्यही रकमबाट पोखरीमा माछाको भुरा हाले र त्यसबाट एक लाख बढी आम्दानी गरें ।' मासिक एकको ब्याजमा उनले सो ऋण प्राप्त गरेकी थिइन् । 

विपन्न, दलित, पछाडि परेका महिला तथा समुदायका लागि गरिबी निवारण कोषले जिल्लामा सञ्चालन गरेको एकीकृत गरिबी निवारण कार्यक्रमबाट उनको आर्थिकस्तर उक्सिएको हो । माछा बिक्री गरेर प्राप्त रकमले उनले ऋण चुक्तासमेत गरिन् । आम्दानी बढ्दै गएपछि थप पोखरी निर्माण गर्ने र व्यवसाय बढाउँदै लैजाने सोच उनको छ । 

सोहि स्थानकी राधा मालाले अहिले तरकारीखेती गर्नुभएको छ । एक वर्षअघिसम्म राधाको अवस्था पनि रामाको जस्तै थियो । गरिबी निवारण कोषबाट पाएको ऋणले उनी तरकारीखेती शुरु गर्नुभयो । अग्र्यानिक तरकारीखेती शुरु गरे मालाले करेला, लौका, फर्सी र भिन्डीको खेती गरेका थिए । 

२५ हजारबाट शुरु गरेकी तरकारीखेती पनि एक लाख बढीको बिक्री भइसकेको छ । त्यस्तै भौँडाहा–५ की राधा रायले अहिले दैनिक ३०० आम्दानी गर्ने गरेकी छिन् । कामविहीन भएर बसेकी उनले अहिले खुद्रा व्यापार शुरु गरेकी छिन् । 

विद्यालय खुलेका बेला विद्यालय र नभए साप्ताहिक हाटबजार र चोकमा उनले पकौडा, आलुचप, भुजा, ब्रेड चप बिक्री गर्ने गर्छिन् । त्यसबाट दैनिक ३०० आम्दानी गर्न थालेपछि उनको आर्थिक अवस्था पनि सुदृढ हुँदै गएको छ । उनले भनिन्– “पहिले घरमा त्यत्तिकै बसिन्थ्यो, तर काम गर्दा हुँदोरहेछ भन्ने भएको छ ।” 

गरिबी निवारण कोषको सहयोगमा सामुदायिक विकास प्रयास नेपालले मोरङका छवटा गाविसमा अहिले एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ । सिंहदेवी, वारंगी, थलाहा, भौँडाहा, कद्महा र दादरवैरियामा कार्यक्रम सञ्चालन भइरहेको गरिबी निवारण कोषका कार्यकारी निर्देशक बालकृष्ण पाण्डेले बताए ।

विशेष