देख्नेकै मुटु छियाछिया हुने गरी कुटाइ खाएकी युवती भन्छिन्, ‘पापालाई कारबाही नहोस्’
साउन ७ । असारको बेला रोपाईंको बेला हो । बिहान म पनि रोपाईंमा गएकी थिएँ । दिउँसो मलाई घर काम गर्न अह्राएर बुवा र आमा खेतमा जानुभयो । दाइ पसलतिर थियो । मैले बाख्रालाई चराउन घरअगाडि डोर्दै थिएँ । दिनेश लोध गाउँ घुम्दै हाम्रोमा आएछन् । मैले नदेख्दै दाइले देखेर पापालाई खबर र्गयो ।
त्यसपछि पापा खेतबाट गाली गर्दै आउनुभयो । केटा भाग्न खोज्यो । उसको उहाँहरुले समातेपछि मलाई मन पराउछु भनेछ । त्यसपछि केटालाई हिर्काउनुभयो । मेरो गल्ती थिएन । मैले तिनलाई बोलाएकी पनि थिइनँ । केटो आफै आएको हो । मैले देख्दा बोल्थे । चिनेकी थिएँ, त्यत्ति हो । अरु सम्बन्ध थिएन ।
मलाई के हो भने सोध्नुभयो । केही होइन भन्दा पनि पत्याउनु भएन । मलाई पनि हिर्काउनुभयो । त्यसमा दादा, पापा, ठूलापापालगायत को को पनि थपिनु भयो । लगातार कुटाइँ खाएँ । कसैले छुट्टाएन । सबैले मलाई दोष दिए । मेरो विहे भैसकेको थियो । गौना गएकी थिइन् ।
घरकालाई अब घरबार हुन्न भन्ने चिन्ता भयो होला । त्यसैले कुट्नुभयो । केहीबेरमा पुलिस आएर लग्यो । पछि केटाले मेरो बिहेका लागि १ लाख दिने भएपछि पुलिसले छोडिदियो । मलाई केके भयो अब बताउन चाहन्न ।
मेरा कारण मेरा पापा र आफन्तलाई थुनाउन पनि चाहन्न । कसैलाई कारबाही गराउन चाहन्न । म घरमै बस्न चाहन्छु । मेरो मात्रै होइन मेरो परिवारको सवाल छ । मलाई बिहे गरेको घरकाले लैजान्न भनिसके । अर्को ठाउँमा केटो खोज्नुभएको छ । आइतबार आउने कुरा छ । पापा ममी घरमा बस्नुहुनेछ । म बिहे गरेर जान चाहन्छु । घटना साम्य भएको थियो । फेसबुकका कारण फेरि बाहिर आयो । यो घटना अब बाहिर नजाओस् ।
कान्तिपुर दैनिकका लागि अमृता अनमोलले मिना यादवसँग गरेको कुराकानी–कान्तिपुर दैनिकबाट ।