News

खाल्डा पुर्न शेरबहादुरले दिएको निर्देशन कर्मचारीतन्त्रले टेरेन, छ दिनमा छ खाल्डा पनि पुरिएनन्

खाल्डा पुर्न शेरबहादुरले दिएको निर्देशन कर्मचारीतन्त्रले टेरेन, छ दिनमा छ खाल्डा पनि पुरिएनन्

साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो । दिर्नेशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ । बितेका ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएको देखिँदैन। समस्या ज्युका त्युँ छ ।
जमलचोक र थापाथली–माइतीघर, चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ ।
खाल्डा पुर्ने जिम्मेवारी पाएका तीन निकायका सचिवले पर्याप्त जनशक्ति परिचालन गरेको देखिन्न । एक–दुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो ‘झारा टार्ने’ शैलीको छ। जमलचोक र थापाथली–माइतीघर, चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ । कतैकतै खाल्डा पुर्न माटो मात्रै राखिएको छ, जसले सडक झन् हिलाम्य बनाउने र सवारी फस्ने समस्या थपिएको ट्राफिक प्रहरी बताउँछन् ।
प्रहरीका अनुसार उपत्यकाभित्र सबैभन्दा ठूला खाल्डा गौशाला–चाबहिल खडकखण्डमा छन् । यो सडकमा परेका खाल्डाखुल्डी छिचोलेर गाडी चलाउँदा चालक पनि थकित छन् । ’प्रधानमन्त्रीले निर्देशन दिएको थाहा त पाएका थियौं तर त्यसको प्रभाव अझै सडकमा देखिएको छैन,’ चाबहिल चोकमा खटिएका ट्राफिक प्रहरी प्रहरी हबल्दार मनोजकुमार चौधरीले भने, ’गौशाला–चाबहिल सडकमा सवारी चलाउँदा चालकले पनि सास्ती खेप्नुपरेको छ, यात्रुको पीडा पनि उस्तै छ तर सरकारले सडक मर्मतमा खासै ध्यान दिएको देखिएन।’ उनले खाल्डाखुल्डीकै कारण ट्राफिक व्यवस्थापन पनि कठिन बन्दै गएको बताए।

खाल्डा पुर्ने जिम्मा खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पाएका छन्। यी निकायलाई गत आइतबार खाल्डा पुर्ने काम थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए। ती मन्त्रालयका सचिवहरू सम्मिलित टोलीले शुक्रबार (छैठौं दिन) सम्म त्रिपुरेश्वर, थापाथली–माइतीघर, गौशाला–मित्रपार्क क्षेत्रका सडक निरीक्षणमात्रै गरेको छ।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाका अनुसार निर्देशन पाएको ६ दिनसम्म तीनकुने, थापाथली, लैनचौर, गोल्फुटारलगायतका सडकको स्थलगत अवलोकन गरी इन्टर ब्लग राखिएको छ। ’त्यसै त बर्खाको समय त्यसमा पनि थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ’छोटो समयमा कसरी काम सकाउने भन्नेबारे सडक विभाग, स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिसँग छलफल गरिरहेका छौं।’ उनले शुक्रबार पनि यस विषयमा छलफल भएको बताए। छलफलपछि समयसीमाभित्रै खाल्डा कसरी पुरेर सक्ने भन्ने विषयमा खाका तयार पारेको जानकारी सापकोटाले दिए।

सडकका खाल्डा पुर्न काठमाडौं डिभिजन कार्यालय १ र २, आयोजना कार्यान्वयन निर्देशनालय लगायतले सयभन्दा बढी कामदार परिचालन गरेका छन्। ’४० जना कालोपत्रे र अन्य ढल, नाली, ग्राभेललगायत काममा खटिएका छन्,’ क्षेत्रीय निर्देशक सापकोटाले भने, ’अहिले हामीलाई कामदार, रोलर, गिटी, एक्जाभेटर र अन्य आवश्यक सामग्री जुटाउन गाह्रो भएको छ।’
– नागरिक दैनिकबाट

विशेष