राजनीति कभर स्टोरी

शेरधनको बेइज्जत गर्न कृपासुरले प्रयोग गरे युवती : अनि लेखियो– आफूलाई त जवानी चढ्यो !

शेरधनको बेइज्जत गर्न कृपासुरले प्रयोग गरे युवती : अनि लेखियो– आफूलाई त जवानी चढ्यो !

साउन ८ । ‘आफूलाई त जवानी लाग्यो, कोही कोहीलाई बुढेसकाल ।’ ‘दौरा सुरुवाल कालो कोट कालो टोपी र छालाको जुत्ता ट्याक, ट्याक, ट्याक.. भुतुक्कै भएँ म त । हिरो त झण्डै त्यहीबेला बेहुला भएको । फूलमाला भए त्यहीबेला लगाइदिने थिएँ मैले त । कति मन परेको थियो मलाई त । लगन जुरेको रहेन छ क्यारे ।’

तत्कालीन सञ्चारमन्त्री शेरधन राईको मोबाइलमा १४ जुन २०१६ मा एउटा म्यासेज आयो । सुरुमा उनले म्यासेज गल्तीबस आएको हुनसक्ने अनुमान गरे । अविवाहित राईले सो म्यासेजसँग पुनः आफूलाई दाँजे । आफ्नो वास्तविकतासँग मिल्दोजुल्दो भएको भन्दै सो म्यासेज आफैलाई आएको निष्कर्षमा पुगे उनी ।
त्यसको केही समयपछि फेरि अर्काे म्यासेज आयो । सो म्यासेज पहिलाको भन्दा अली बढी नै कडा थियो । दोस्रो म्यासेज पढेपछि उनी निष्कर्षमा पुगे, आफूमाथि कुनै गम्भीर षडयन्त्र भइरहेको छ भनेर । आफूलाई बदनाम गर्न कुनै शक्ति हात धोएर लागिरहेको छ भन्ने उनलाई लाग्यो ।

यस्ता म्यासेज एक पटक होइन, दुई पटक होइन, दर्जनौं पटक आउन थाले । हरेक म्यासेज व्यंग्यात्मक, धम्कीपूर्ण र अश्लील थिए । लगातार म्यासेज आउन थालेपछि तत्कालीन सञ्चार मन्त्री राईले यसबारे बुझ्न खोजे । सञ्चार मन्त्री भएका कारण उनलाई यसबारे बुझ्न खासै अप्ठेरो पनि थिएन । उनले नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण मार्फत ती युवतीको नम्बरबाट प्राप्त सन्देश र उनको नियमित सम्पर्क हुने शंकास्पद व्यक्तिहरुको नम्बर ट्रेस गर्न लगाए । युवतीका एकतर्फी एसएमएस र उनको सम्पर्क हुने व्यक्तिको विवरण पाएपछि सञ्चारमन्त्री राईलाई यसबारे बुझ्न खासै धेरै समय पनि लागेन । त्यसपछि उनले आफूमाथि भइरहेको षडयन्त्रमा पूर्व पर्यटनमन्त्री एवं एमाले नेता कृपासुर शेपाको संलग्नता रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी कार्यालयमा कारबाहीका लागि उजुरीसमेत दिए ।

राईविरुद्ध ती युवती परिचालित भएको देखिएपछि तत्कालै उनलाई प्रधानमन्त्रीको सचिवालयबाट हटाइयो । युवा संघमा पनि प्रवेश निषेध गरियो । युवतीको पत्तो लाग्यो, पार्टीले ‘कारबाही’ पनि ग¥यो । तर राईलाई बद्नाम गर्न मुख्य भूमिका खेल्ने कृपासुर शेर्पामाथि भने कुनै कारबाही भएन । आफूले उजुरी दिएको डेढ वर्ष बितिसक्दा पनि शेर्पामाथि पार्टीले कुनै कारबाही नगरेकोमा राई आश्चर्यमा परेका छन् । त्यो भन्दा थप आश्चर्य युवा नेता राई कृपासुर शेर्पालाई एमाले अध्यक्ष ओलीले नै च्यापेर हिडेकोमा तीनछक परेका छन् । कारबाही गर्नुपर्ने मान्छेलाई शीर्षस्थ नेताहरुले नै च्याप्न थालेपछि शेर्पा पार्टी नेतृत्वसँगै अवाक बनेका छन् । पार्टीले शेर्पामाथि कुनै कारवाही नगरे शेर्पाको आपराधिक करतुत सार्वजनिक गरिदिने र राज्यका निकायबाटै कारवाही गराउने जानकारी समेत राईले पार्टी नेतृत्वलाई गराएका छन् ।

पार्टी नेताहरुलाई ती युवती आफूविरुद्ध परिचालित रहेको र त्यसमा कृपासुर शेर्पाको आर्थिक लगानी रहेको किटानी उजुरी दिए पनि राईलाई नेताहरुले चुपचाप पार्टी काममा लाग्न निर्देशन दिएपछि उनी तीन छक परेका छन् । यो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो एसआर्एबीले समेत अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा राईको चरित्र हत्या गर्ने उद्धेश्यले ती युवती परिचालित भएको पुष्टि भएको थियो । तर उनलाई पक्राउ गर्दा उल्टै ती युवतीले अनावश्यक चर्चा पाउने भन्दै पक्राउ गर्न प्रहरी पछि हटेको थियो ।

ती युवती एकपटक ‘आफू पत्रकार हुँ’ भन्दै हात्तीगौंडास्थित राईको डेरामै पुगेकी थिइन् । उनले ‘मिडिया किन्छौं, वकिल किन्छौं, जसरी पनि सिध्याउने हो’ भन्न थालेपछि राईका सुरक्षाकर्मीले उनलाई बाहिर निकालेर पठाएका थिए ।

एमाले नेता तथा पूर्वमन्त्री राईलाई निरन्तर एसएमएस मार्फत तनाव दिने युवती कृपासुर शेर्पाको गाडीमा यात्रा गर्ने गरेको प्रमाण पनि एमाले कार्यालयमा पेश भएको स्रोतको दाबी छ । स्वयं ती युवतीले पनि राईलाई पठाएका एसएमएसमा कृपासुरको संलग्नता रहेको जिकिर गरेकी छन् । उनले राईलाई सन्देश पठाउने तीनवटा फरक फरक मोबाइल नम्बर प्रयोग गरेकी थिइन् । तर, टेलिफोन कल रेकर्डमा उनले ६ वटा मोबाइल नम्बर प्रयोग गर्ने गरेको पाइएको थियो ।

एमाले आबद्ध युवा संघका नेताहरुले सोधपुछ गर्दा युवतीले आफूलाई शेर्पाले ७ लाख रुपैयाँ दिने भनेर राईको पछि लाग्न अह्राएको र हालसम्म ३ लाख रुपैयाँमात्रै पाएको बताएकी थिइन् । शेरधनलाई सिध्याउन जति पैसा पनि खर्च गर्ने शक्ति आफूसँग रहेको उनले बयान दिएको युवा संघका नेताहरु बताउँछन् ।

कसरी बिग्रियो राई र शेर्पाको सम्बन्ध ?

राई भोजपुर २ बाट र कृपासुर क्षेत्र नम्बर १ का सांसद हुन् । दुबै जना प्रत्यक्षमा जितेका सांसद हुन् । त्यसो त उमेरका हिसावले कृपासुर जेठा भएपनि राजनीतिक हिसावले राई एमालेमा धेरै पहिलेदेखि आबद्ध छन् । अनौठो यो छ कि, राईले नै कृपासुरलाई एमाले राजनीतिमा भित्र्याएका थिए । उनले २०५६ सालमा कृपासुरलाई एमाले पार्टीमा ल्याएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा राईकै जोडबलमा कृपासुरले क्षेत्र नम्बर १ बाट टिकटसमेत पाएका थिए । त्यो बेला राई र कृपासुरबीच के सहमति भएको थियो भने कृपासुरले टिकट पाए राईको चुनावी खर्च पनि कृपासुरले नै बेहोरिदिने । त्यस्तै टिकटको निर्णय भएपछि उनले नै पार्टीको खातामा २ करोड रुपैयाँ जम्मा गर्ने बताएका थिए ।

तर, चुनावको मुखमा एक पैसा पनि नदिएपछि शेरधनले टेलिफोनबाट गाली गरेको र त्यही दिनदेखि उनीहरुको सम्बन्ध चिसिएको एमाले कार्यकर्ताहरु बताउँछन् । चुनावको बेला भोजपुर सदरमुकामका होटलमा कार्यकर्ताले भात खाएको लाखौं रुपैयाँ समेत दुई जनाको विवादका कारण नतिरेर पार्टीले ऋण बोक्नु परेको बताइएको छ ।

सहमतिबमोजिम राईले इमान्दारिता देखाउँदै उनलाई टिकट दिलाए । तर, कृपासुरले भने राजनीतिक इमान्दारिता देखाएनन् । पैसा दिनुपर्छ भनेर उल्टै राईको खेदो खन्न थाले कृपासुरले । यही विषयले सुरु भएको विवाद अहिले एकले अर्काको राजनीति सिध्याउने अवस्थामा पुगेका छन् ।
कृपासुर शेर्पा शेरधनको पछि लाग्नुको अर्को कारण चाहिँ उनले स्वीकार नगरेका छोरा गणेशको शेरधनसँगको सम्पर्क । शेरधनलाई कृपासुरको सबै कमजोरी राम्रोसँग थाहा छ । कृपासुरका पीडित छोरा गणेशले एमालेका तत्कालीन जिल्ला प्रमुख र पछि पार्टीको नेता भएका कारण पटक–पटक शेरधनसँग कृपासुरको छोरा कायम गराई पाउँ भनी न्याय मागेका थिए ।

त्यसो त, यी दुई जना एकअर्काबीच जाइलाग्नुको अर्काे कारण पार्टीभित्रको जनजाति राजनीति । अशोक राईले एमाले छाडेपछि एमालेको जनजाति राजनीतिमा यी दुई नै अग्रपंक्तिमा छन् । को माथि जाने भन्ने लडाईं उनीहरुमा छ । फरक यति हो कि, राई इमानको राजनीति गर्छन् । उनीसँग उमेर पनि प्रशस्त छ । जीवनमा केही नौलो काम गरौं भन्ने चाहना उनमा देखिन्छ । तर, कृपासुर भने इमानको नभई स्वार्थको राजनीतिबाट प्रेरित छन् । नेतृत्वलाई रिझाउन सके हरेक अवसर सहजै पाउन सकिन्छ भन्ने उनको बुझाइ छ ।

त्यसो त यहाँ चाखलाग्दो विषय के छ भने शेरधन राई र कृपासुर दुबै ओली पक्षधर हुन् । ओलीलाई बढी प्रभावमा पार्न सफल भएकाले शेरधन भन्दा राई नै पहिला मन्त्री बन्न सफल भए । आफैले पार्टीमा ल्याएका व्यक्ति आफूभन्दा पहिला मन्त्री बन्न सफल भएको पीडा शेरधनमा कहिलेकाहीँ देखिन्छ ।

बदनाम कृपासुर

कृपासुर शेर्पा यसअघि पनि विवादमा परेर कारवाहीको भागिदार भएका व्यक्ति हुन् । तत्कालीन पार्टी उपाध्यक्ष तथा महिला संघ अध्यक्ष विद्यादेवी भण्डारीले कृपासुरद्वारा दलित महिलामाथि दुराचार गरेको र छोरालाई नागरिकता नदिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै शेर्पामाथि पार्टी बैठकमै कारवाहीको माग गरेकी थिइन् । तर, पार्टी नेतृत्वले उनको माग कहिले पनि सुन्न चाहेन । उनले धुम्बाराहीमा आफ्नो सम्पत्तिमा पार्टी कार्यालय राख्न सफल भएपछि उनलाई छुने हिम्मत अहिले कोहीसँग पनि छैन । यति मात्र होइन, पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठान रहेको आफ्नो सम्पत्तिमा पार्टी कार्यालय राख्न मात्र दिएनन्, पार्टी कार्यालय राख्ने पक्का भएपछि ‘रंगरोगन र डेकुरेसन’ मा करोडौं रुपैयाँ खर्चसमेत गरे । यहाँ अचम्म मान्नुपर्ने के छ भने एमालेजस्तो अनुशासन र संगठनमा बलियो पार्टी एक जना बदनाम व्यक्तिले उपलब्ध गराएको घरमा पार्टी कार्यालय सञ्चालन गरिरहेको छ ।

त्यसो त एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी, शेर्पाले पार्टी नेतृत्वलाई आफ्नो प्रभावमा राखेकोमा क्रुद्ध थिइन् । यही असन्तुष्टिका कारण भण्डारीले धुम्बाराहीको पार्टी कार्यालयसमेत टेक्न मानेकी थिइनन् ।

कृपासुर शेर्पाले सरकारी कर्मचारी हुँदा दलित महिलामाथि यौन दुराचार गरेर छोरा जन्मिएको र उनका छोरा गणेशले नागरिकता नपाएको विषय बाहिर आएपछि उपाध्यक्ष भण्डारीले यसमा चासो राखेकी थिइन् । यति हुँदा पनि एमाले नेतृत्वले शेर्पालाई कारवाही गर्न सकेको छैन । शेर्पाले पैसाका भरमा एमाले नेताहरुलाई आफ्नो प्रभावमा पार्दै आइरहेका छन् । पछिल्लो पटक शेर्पाले छोरा बुहारीलाई नै गोलीले उडाइदिने धम्की दिएर गौशाला प्रहरीमा थुनाएका थिए । त्यसो त कृपासुरले आफ्नो राजनीति नै धरापमा पर्न थालेपछि बाध्य भएर छोरा गणेशलाई नागरिकता दिलाएका हुन् । यहाँ अनौठो कुरा के छ भने उनले गणेशलाई छोरा भनी नागरिकता दिएपनि व्यस्थापिका संसद्मा उनले बुझाएको व्यक्तिगत विवरणमा छोरी चार जना उल्लेख छ । तर छोरा कोही पनि नभएको उल्लेख छ ।

राजनीतिमा कृपासुरको छलाङ

करीव एक दशकअघि भन्सारको सुब्बा पदबाट सेवा निवृत्त भएका कृपासुर शेर्पाले राजनीतिमा यति लामो फड्को मारे कि, निर्वाचित सभासद हुँदै पर्यटनमन्त्रीसमेत बन्न पुगे । उनले आन्तरिक सांगठनिक राजनीतिक जीवनमा ठूलो त्याग गर्नु परेन । अशोक राईको नेतृत्वमा एमालेका केही आदिवासी जनजाति नेताहरुले एकल जातीय राज्यको माग गर्दै पार्टी छाड्नु नै कृपासुरलाई एक प्रकारले चिठ्ठा पर्न गयो । उनले एमालेमा जातीय मामिलामा ठूलो विवाद भएका बेला एकल जातीय राज्यको विरोध गर्दै पार्टी नेतृत्वको अडानलाई साथ दिए । नेपाल शेर्पा संघको अध्यक्षसमेत भइसकेका कारण उनले विभिन्न फोरममा एमालेको नीतिको बचाउ गर्दै बोलेपछि एमालेभित्र उनको उचाइ बढ्यो भने पहिचान पक्षधर भनिनेहरुले उनलाई प्रहारको निशाना बनाए ।
भोजपुर क्षेत्र नम्बर १ का प्रभावशाली एमाले नेता तत्कालिन केन्द्रीय सदस्य अजम्बर राई संघीय समाजवादीतिर लागे । यही मौकामा उनले आफूले सरकारी सेवामा हुँदा कमाएको पहुँच र साधन स्रोतलाई भोजपुरको शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गरे । अजम्बर लगायतका नेताहरुले एमाले छाड्नु र कृपासुरले निर्वाचन क्षेत्र केन्द्रित भएर विकासको काम गर्नुको संयोग उनले एमालेबाट संविधानसभा निर्वाचन ०७० मा टिकट पाए । केपी ओलीको विश्वासपात्र हुनु र जनताबीचमा विकासका काम लिएर जानुनै उनको टिकट पाउने आधार बन्यो ।

भन्सार विभागको नायब सुब्बाबाट राजीनामा दिएर उनी राजनीतिमा लागेका थिए । उनले शिक्षणमा ६ वर्ष र निजामती २६ वर्ष गरी ३२ सेवा गरेका थिए । उनी झन्डै एक दशकको राजनीतिक यात्रामै मन्त्रीपद पाउन सफल भएका हुन् । उनी एकल जातीय पहिचानसहितको प्रदेश बनाउने अवधारणाको विपक्षमा छन् ।

पहिलोपटक चुनाव लडेर सफलता पाउनु नै कृपासुरको राजनीतिमा ठूलो छलाङ बन्यो । किनकी उनी पार्टीको हैसियतमा जिल्ला अध्यक्ष पनि बन्न सकेका छैनन् । जागिरे अवधिमै एमालेमा आबद्ध भए पनि उनको सक्रिय राजनीति भने भोजपुर काठमाडौं सम्पर्क मन्चमा पचासको दशकबाट भएको हो । उनी सम्पर्क मन्चको अध्यक्षसम्म भए ।

एमाले नेतृ रामकुमारी झाँक्री कृपासुरको विगत र हालको व्यवहारबाट अत्यन्तै आक्रोशित छन् । महिला हिंसा गर्ने उनलाई कारबाही गरेरै छाड्नुपर्ने उनको माग छ । ‘एक जना महिलालाई गर्भवती बनाएर ३७ वर्षसम्म अलपत्र पार्ने कृपासुरलाई त्यसै छाड्नु हुन्न,’ उनी भन्छिन् ।

 

 

 

 

kripasur and sherdhan

विशेष