विदेश

तत्काल युद्धविराम गर्न युक्रेनका राष्ट्रपतिको माग

तत्काल युद्धविराम गर्न युक्रेनका राष्ट्रपतिको माग

 

साउन - ९ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले पूर्वी युक्रेनी भूभाग डोनेटस्क, लुगान्स्क क्षेत्रसहित डोन्बासमा युद्धविरामको माग गरेका छन् । चार वटा देश सम्मिलित एक कूटनीतिक समूह ‘नरमान्डे फोर’ मा भएको टेलिफोन वार्तामा उनले सो माग गरेका हुन्। 

जर्मनी, फ्रान्स, रसिया र युक्रेनसम्मिलित सो नर्मान्डे फोरका नेताहरुको सोमबार फोनवार्ता भएको थियो । त्यस क्रममा आफूले सो कुाराकानी गरेको जानकारी उनले आफ्नो फेसबुकमार्फत जानकारी गरेका छन् । 

युक्रेनमा देखिएको समस्या समाधानका लागि उक्त मञ्च गठन भएको हो । ती नेताहरुले सोमबार युक्रेन समस्याको समाधान के कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर वार्ता गरेका थिए । मिन्स्कमा भएको शान्ति सम्झौताअनुरुप पूर्वी युक्रेनमा जारी सैनिक द्वन्द्व रोकिएको खण्डमा मात्र अरू समाधान सम्भव भएको पोरोसेन्कोले आफ्नो फेसबुक पेजमा बताएका छन् । 

उनको सो आग्रहपछि जर्मनी, फ्रान्स र रसियाका नेताहरुले युद्धविरामका लागि सहमति जनाएको बताइएको समाचारमा उल्लेख छ । डोन्बासमा जारी द्वन्द्वको अवस्थाको विषयलाई लिएर युक्रेनले सधैँ यो माग गर्ने गरेको छ । उक्त क्षेत्रमा सशस्त्र युद्धको अन्त्य उसको पहिलो शर्त भइआएको छ । 

बेलारुसको राजधानी मिन्स्कमा सन् २०१५ को फेबु्रअरीमा युक्रेन विषयमा शान्ति सम्झौता भएको थियो । युक्रेनी पूर्वी क्षेत्रमा शान्तिपूर्ण समाधान सो सम्झौताको मर्म हो । युक्रेनी विदेशी मन्त्रालयका अनुसार गत हप्तामा जारी द्वन्द्वको क्रममा मात्र १३ युक्रेनी सरकारी सैनिकको मृत्यु भएको थियो । सो क्षेत्रमा अहिले पनि हिंसा जारी नै छ ।

विशेष