१० वर्षीया बालिकाको पेटमा २६ साताको गर्भ, न बच्चा जन्माउन सक्छिन्, न गर्भपतन नै गर्न पाउँछिन्
साउन १० । भारतको सर्वोच्च अदालतले चिकित्सकहरूलाई १० वर्षीया बलात्कारपीडित बालिकाको अवस्थाबारे जाँच गरी पूरा जानकारी दिन आदेश दिएको छ । बालिकालाई गर्भपतनको अनुमति दिन माग गर्दै पीडित बालिकाका बाबुआमाले अदालतको ढोका ढक्ढक्याएका थिए । बलात्कार पीडित एक बालिका २६ महिनाकी गर्भवती रहेको र उनी बच्चा पाउन सक्षम नरहेको बताइँदै आएको छ ।
भारतीय कानुनअनुसार २० साताभन्दा बढीको गर्भपतन गराउन पाइँदैन । यस्तो अवस्थामा डाक्टरहरूले आमाको जीवन जोखिममा रहेको पुष्टि गरे मात्रै गर्भपतन गर्न पाइन्छ । ती बालिकाका काकाले नै सात महिनादेखि गरेको पटकपटकको बलात्कारका क्रममा उनी गर्भवती बन्न पुगेकी थिइन् । बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । बालिकालाई पेटमा समस्या आएर अस्पताल लगेपछि उनी गर्भवती रहेको पत्ता लागेको थियो ।
बुधबार चण्डीगढको पोस्टग्रेजुएट इन्स्टिट्युट अफ मेडिकल एजुकेशन एन्ड रिसर्चमा बालिकाको जाँच हुनेछ । त्यसपछि डाक्टरहरूले उनी बच्चालाई जन्म दिन सक्छिन् या गर्भपतन गराउनु पर्ने हो भन्नेबारेमा निश्कर्ष दिनेछन् ।
गत साता चण्डीगढको एक स्थानीय अस्पतालले बच्चीलाई गर्भपतन गराउने सम्बन्धमा दायर एक निवेदन खारेज गरेको थियो । भारतमा छोराका चाहना राख्नेहरूले बालिकालाई भ्रुणमा नै हत्या गर्ने क्रम बढेर पुरुष–महिलाको जनसंख्याको अनुपातमा नै असर परेपछि यस्तो कानुन बनाइएको थियो ।
गत वर्ष मात्रै लाखौं गर्भवती महिलाले आफ्नो पेटमा रहेको बच्चाको लिंग पहिचान गरेको र केही छोरीको भ्रूणमा नै हत्या गरेका घटना सार्वजनिक भएको थियो । भारतमा पछिल्लो समयमा केही बलात्कारपीडित महिलाहरूले गर्भपतन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । गत मे महिनामा यस्तै प्रकारको मुद्दामा अदालतले गर्भपतनको अनुमति दिएको थियो ।