विदेश

भारतीय नवनिर्वाचित राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण

भारतीय नवनिर्वाचित राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण

साउन - १० । भारतीय नवनिर्वाचित राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए । समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार रहेका उनी ६५ प्रतिशत मत प्राप्त गरी हालैमात्र निर्वाचित भएका थिए । मंगलबार बिहान राष्ट्रपति कोविन्दले आफ्नी पत्नीसहित राजघाटस्थित महात्मा गान्धीको स्मारकमा पुगी उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

७१ वर्षीय कोविन्दलाई विशेष सवारीका साथ राष्ट्रपति भवनमा प्रवेश गराइएको थियो । त्यस बखत त्यहाँ उपस्थित विशिष्ट व्यक्तिले उनलाई स्वागत गरेका थिए । भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहणपछि दिएको मन्तव्यमा आफूले सधैं न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै भारतीय नागरिक समग्र भारतको विकासका लागि उर्जाको स्रोत हुने बताए ।

विशेष