News

स्यालको टोकाईबाट वडाध्यक्षसहित २८ घाइते

स्यालको टोकाईबाट वडाध्यक्षसहित २८ घाइते

 

साउन - १० । बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईमा स्यालले आतंक मच्चाउन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । 

बेलुकाको समयमा स्यालले सर्वसाधारण स्थानीयवासीलाई आक्रमण गर्ने गरेको स्थानीयवासी नरेन्द्र खातीले बताए । अहिलेसम्म जयपृथ्वी नगरपालिका–४ गोलाईमा मात्र आइतबार साँझपख १५ जनाभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएका छन् । 

यस्तै, जयपृथ्वी नगरपालिका–३ पडेसमा समेत स्यालकै आक्रमणबाट झण्डै ६ जनाभन्दा बढी घाइते भएका छन् । बेलुका ७ बजेपछिको समयमा बाटोमा हिँड्ने बटुवा तथा जो कोही व्यक्तिलाई स्यालले आक्रमण गर्ने गरेको स्यालको आक्रमणबाट घाइते भएका गोलाईका सुशील खातीले बताए। सदरमुकाम चैनपुरबाट घरजाने क्रममा स्यालले आफूसँगै रहेका अन्य चार जनालाई समेत आक्रमण गरी सामान्य घाइते पारेको उनको भनाइ छ । 

यस्तै, बेलुका सदरमुकाम चैनपुरबाट घर जानेक्रममा जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीलाई समेत स्यालले आक्रमण गरी घाइते बनाएको छ । घाइते खातीको खुट्टामा टोकेपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको खातीले बताएका छन् । 

यस्तै, पडेसमा रहेको आर्मी ब्यारेकमा समेत डिउटीमा रहेका सैनिकलाई पनि स्यालले आक्रमण गरी घाइते बनाएकोे छ । आइतबारदेखि आजसम्म २८ जनाभन्दा बढी स्थानीयवासीलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीयवासीले बताएका छन् । स्यालको आक्रमणबाट शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सूर्य थापालगायत २८ जनाभन्दा बढी घाइते भएका हुन् । 

बेलुकी ७ बजेपछि बाटोमा हिँड्दा स्यालले आक्रमण गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न थालेका छन् । बाटोमा एक्लै हिँड्नसमेत छोडेको स्थानीयवासी नरेन्द्रजङ्ग खातीले बताए । स्यालले स्थानीयवासीमाथि आक्रमण गर्न थालेपछि ७ बजेभन्दा पछि उनीहरु यो बाटो हिँड्न छोडेका छन् ।

विशेष