व्यापार

मूल्य घटेपछि अलैचीमा आकर्षण घट्यो

मूल्य घटेपछि अलैचीमा आकर्षण घट्यो


साउन १० । अलैंची खेतीप्रति किसानको आकर्षण घटेको छ ।

बजार अभाव र मूल्यमा गिरावट आएकाले अलैंची खेतीप्रति किसानको आकर्षण घटेको हो। जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार यादवका अनुसार अघिल्लो वर्ष प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा अलैंची बिक्री भएको थियो ।

अहिले भाउ घटेर प्रतिमन ४०–५० हजार रुपैयाँ छ । मूल्य घट्नु, बाह्य बजारको भर पर्नुलगायतका कारण अलैंची खेतीप्रति किसानको आकर्षण घटेको हो । गत वर्ष ६० हेक्टरमा अलैंचीको बिरुवा रोपिएकोमा यो वर्ष भने ११ हेक्टरमा मात्र रोपिएको छ ।

जिल्लामा एक हजार चार सय चार हेक्टर अलैंची खेती लगाइएको छ । यसका लागि जिल्ला कृषि विकास कार्यालयमार्फत एक लाख २० हजार बिरुवा वितरण गरिएको छ । अन्य अलैंची नर्सरीबाट पनि अलैंचीको बिरुवा कम गएको यादवले सुनाए । उनका अनुसार जिल्लाको याम्खा, खिदीमा, नेर्पा र ऐंसेलुखर्कमा रहेको अलैंची नर्सरीबाट कमै बिरुवा बिक्री भएको छ ।

जिल्लाको नौ सय ६१ हेक्टरमा अलैंची उत्पादन हुन थालेको छ । यसमा आर्थिक वर्ष २०७३/७४ मा ११ हजार मन अलैंची उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७२/७३ मा १४ हजार एक सय मन अलैंची उत्पादन भएको थियो। अलैंची उत्पादनमा समेत ह्रास आउनुले पनि किसानमा निराशा छाएको यादवले बताए ।

 

विशेष