News स्वास्थ्य

केसीको अनशनसँगै विधेयकमाथि छलफल

केसीको अनशनसँगै विधेयकमाथि छलफल

साउन ११ । व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले डा.गोविन्द केसीले छलफलमा भाग नलिई हतारमा अनशन सुरु गरेको दाबी गरेको छ । माथेमा प्रतिवेदनअनुरूप दिइएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने मुख्य माग राख्दै ११औं पटक अनशन बसेका उनलाई विधेयकमाथिको छलफलमा भाग लिन बोलाउँदा नआएको समितिकी सभापति रञ्जुकमारी झाले बताइन् ।

केसीकै माग सम्बोधन गर्न सरकारले तयार पारेको चिकित्सा शिक्षा ऐनको विधेयक संसद्मा दर्ता भएपछि उक्त समितिमा पुगेको छ । झाले विधेयकमाथि प्राथमिकतासाथ छलफल बढाउँदा पनि नआई अनशन सुरु गरेकोमा दुःख लागेको बताइन् । समितिमा दर्जन विधेयक छलफलका क्रममा छन् । तर, संवेदनशील भएको भन्दै हामीले विधेयकमाथि छलफल अघि बढाइरहेका थियौं, झाले भनिन्, तर, उहाँले हतारमा अनशन सुरु गरिहाल्नुभयो ।

उनका अनुसार विधेयकलाई टुंगो लगाउन पहिलो चरणमा त्रिविका पदाधिकारी र दोस्रो चरणमा निजी मेडिकल कलेजका सञ्चालक र चिकित्सकसँग छलफल भइसकेको छ । केसी अनशन बस्नुअघि उनका समर्थकलाई बोलाएर विधेयकमाथि छलफल गर्न समितिले मंगलबार बैठक डाकेको थियो । तर, केसी सोमबारदेखि अनशन बसेपछि उनका समर्थक डा. जीवन क्षत्री, डा. भगवान कोइराला र डा.केदारभक्त माथेमा छलफलमा पुगेका थिए ।

अन्नपूर्ण

विशेष