News मुख्य समाचार

सप्तरीमा बाढीले बेहाल, १५ सय घर डुबानमा

सशस्त्र प्रहरी हवल्दारको मृत्यु

सप्तरीमा बाढीले बेहाल, १५ सय घर डुबानमा

असार १८ । शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन्।

बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन्। बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्‍याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन। कोसीको भंगालोमा सशस्त्र प्रहरीका एक हवलदारको शव भेटिएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको डुबेर मृत्यु भएको हो।

उनको शव बीओपी कार्यालयबाट ४ सय मिटरपूर्व कोसीको भंगालोमा देखिएपछि पूर्वी मुख्यालय, पकलीबाट आएको गोताखोर टोलीले निकालेको थियो। शनिबारै लौनिया बस्तीनजिक आडो खोलाको बाढीले ल्याएको एक बेवारिस शव फेला परेको स्थानीय गजेन्द्र मण्डलले जनाए। शनिबार बिहानसम्म निरन्तर भएको थियो। बाढीले सयौं घर बगाएको एसपी अनुराग द्विवेदीले बताए। उनका अनुसार महुली खोलाको बाढीले सप्तरीको त्रिकौलका १५०, तिरहुत गाउँपालिका–५ भेडियाका ७० र दुधैला खोलाको बाढीले रूपनी गाउँपालिका–६ वीरेन्द्रबजारका ६ घर बगेका छन्। रूपनी बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा बस्ती जलाम्य भएको छ। गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको द्विवेदीले जनाए। रूपनी गाउँपालिकाअन्तर्गत पौवामा स्थानीय मनोज यादवको ५ सय कुखुरासहितको फर्म खाडो खोलाले बगाएको छ।

तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोइलाडी–८ का मिथलेश झाले जनाए। तिलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ । तिलाठी गाउँपालिकाको कार्यालय, वडा नम्बर ८ को कार्यालय तथा तिलाठी स्वास्थ्य चौकीसमेत डुबानमा परेको छ। तिलाठीमा निर्माणाधीन खानेपानी कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ। आयोजनाको पर्खाल भत्केको र ५० बोरा सिमेन्ट नष्ट भएको उपभोक्ता समितिमा अध्यक्ष सतीष मिश्रले जानकारी दिए। कञ्चनरूप नगरपालिका–१ रघुनाथपुरका अवधी यादव, देवु यादव र राजकुमार यादवका ४ वटा घर पनि बगाएको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत तिलाठीस्थित बेल्ही भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट डुबानमा परेको छ। घरभित्र २–३ फिट पानी पस्दा खाना बनाउन नपाएको स्थानीय बाबुनारायण मिश्रले बताए। ‘घरभित्रै पानी बगिरहेको छ, चुल्होमाथि समेत पानी छ, कसरी पकाउनु खानेकुरारु’ उनले भने, ‘खाद्यान्न पनि बगायो, चुल्हो पनि रहेन, भोकै बस्नुपर्ने भएको छ।’

सदरमुकाम राजविराज नगरपालिकाको डुमरी शिवथान, मधवापुर, मयनाकरेडी, रायपुरको पौवाटोल, पोर्ताहा, मलेठलगायत स्थानमा पनि कैयौं घरभित्र पानी पसेको छ। बाढी पसेका घरबाट खाद्यान्नसमेत बगाएको छ। एसपी द्विवेदीले बाढीका कारण जिल्लाका एक हजार ५ सय घर डुबानमा परेको बताए। ‘प्रारम्भिक तथ्यांकले एक हजार ५ सय घर डुबानमा परेको जानकारी आएको छ,’ उनले भने, ‘बाढीबाट भएको डुबान, कटान र क्षतिको विवरण संकलन भइरहेको छ।’

विशेष