News

मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य

मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य

साउन १२ । दाङका स्थानीयवासी वर्षायामसँगै दूषित पानी पिउन बाध्य भएका छन् ।

राप्ती गाउँपालिका– ५ पुनखोला र करंगेकोटवासी खानेपानीको मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य छन् ।

गाउँमा खानेपानीको मुहान वर्षात्मा धमिलो हुने पात पतिंगर झरेर फोहर हुने भएका कारण आफूहरुले दूषित पानी पिउन बाध्य भएको पुनखोलाका यशोदा विकले बताए ।

विकले भने – “खोलाको धमिलो पानी ल्याई प्रयोग गरिरहेका छौँ । विकका अनुसार खानेपानीका कारण वर्षायाममा यहाँ वर्षेनी झाडा–बान्तालगायतको समस्या आउने गरेको छ ।

स्थानीयवासी थंमनसिंह गाहाले भने – “दूषित खानेपानी प्रयोगकै कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने गरेको र पटक पटक सम्बन्धित निकायलाई खानेपानीको मुहान संरक्षण र ट्यांकी निर्माणका लागि आग्रह गरेका छौँ । त्यस्तै करंगेकोटमा खानेपानीको मुहान एउटामात्र भए पनि सो मुहानमा पानी लिन जान घण्टौँ लाग्ने गरेको स्थानीयवासी थमकली पुनले बताए।

सोही मुहान पनि हिउँदमा सुक्ने र वर्षामा आकाशबाट परेको पानीले मुहानको पानीलाई दूषित बनाइदिन्छ के गर्नु जति सरसफाइ गरे पनि हुँदैन यसका लागि खानेपानी योेजना नै गाउँमा ल्याउनुपर्छ कहिलेसम्म यो समस्या झेल्ने हो करंगे, पुनखोला गाउँका अगुवा चित्रबहादुर थापाले भने ।

अहिले पुनखोलामा ४० घरधुरी छ भने करंगेकोटमा १०० घरधुरी रहेको छ । यसरी १४० घरधुरीले दूषित खानेपानी प्रयोग गरिरहेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङले भने आफूहरुकहाँ स्थानीयवासीको गुनासो नआएको बताएको छ । यस विषयमा जानकारी आए खानेपानीका लागि पहल गर्ने डिभिजन कार्यालयले जनाएको छ ।

त्यस्तै राप्ती गाउँपालिकावासीलाई शुद्ध पानीको पहुँचमा ल्याउन गाउँपालिकाले पहल गर्ने योजना बनाएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । उनले आगामी दिनमा खानेपानी कार्यालयसँग सहकार्य गरी गाउँपालिकाभित्र शुद्ध खानेपानी पु¥याउने लक्ष्य रहेको बताए । “त्यहाँ खानेपानीको समस्या छ, त्यसका लागि अब छिट्टै पहल गर्ने छौँ – उनले भने ।  

water crisis

विशेष