News

ज्येष्ठ नागरिक सम्मान पार्क निर्माण

ज्येष्ठ नागरिक सम्मान पार्क निर्माण

साउन १३ । कपिलवस्तु नगरपालिका– २ सागरटोलमा ज्येष्ठ नागरिक सम्मान पार्क निर्माण गरिएको छ ।

विभिन्न सरकारी निकाय तथा स्थानीयवासीको सहयोगमा रु १३ लाख बढीको लागतमा उक्त पार्क निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण गरिएको यो पार्क सम्भवतः जिल्लाकै पहिलो पार्क रहेको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उपलब्ध गराएको चार कठ्ठा जग्गामा निर्माण गरिएको उक्त पार्कका लागि जिल्ला वन कार्यालयले रु आठ लाख, सांसद विश्रामप्रसाद थारुको संसदीय विकास कोषबाट रु एक लाख, जिविसबाट रु दुई लाख र नगरपालिकाबाट रु एक लाख ५० हजार रकम सहयोग प्राप्त भएको पार्क निर्माण समितिका संयोजक माधवप्रसाद शर्माले बताए ।

पार्क निर्माणमा सागरटोलवासीको समेत ठूलो सहयोग रहेको उनले बताए । ‘सबैको सहयोग र मेहेनतले बल्ल पार्क निर्माण भयो,’ संयोजक शर्माले भन्नुभयो ‘अब हामीले पार्कलाई सुन्दरीकरण गर्ने तयारीमा लागेका छौ ’ ।

जिल्ला वन कार्यालयको सहयोगमा पार्कमा पर्खाल तारबार, मूलद्वार निर्माण र फूलका बिरुवा रोपेको शर्माले बताए । विशेषगरी पार्कमा धूपी, कार्टुन, जस्मिन, रेड हेज, ग्रीन हेजलगायतका फूलका बिरुवा रोपिएका छन् ।

यस्तै रक्त चन्दन, रुद्राक्षको बिरुवासमेत पार्कमा रोपिएको छ । पार्कभित्र बस्नका लागि सेडसमेत निर्माण गरिने छन् । जिल्ला वन कार्यालयका प्रमुख कृष्ण न्यौपानलेले पार्कका लागि सहयोग जारी रहेको बताए ।

पार्कमा फूलका बिरुवा रोप्दै कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी कसौधनले ज्येष्ठ नागरिकको सम्मानमा पार्क निर्माण गरिनु आफैँमा एउटा सकारात्मक काम भएको भन्दै आफूले पार्कलाई व्यवस्थित बनाउन नगरपालिकाबाट थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

old age

विशेष