News

कछुवा गतिमा करिडोर

कछुवा गतिमा करिडोर

साउन १५ । काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा महत्त्वपूर्ण मानिएका खोला किनारका करिडोर निर्माणमा सोचे जति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकारेका छन् । बाग्मती र धोवीखोला करिडोरबाहेक अन्य करिडोरमा निर्माण कार्य तोकिएको लक्ष्यअनुसार प्रगति र बजेट उपलब्ध भएर पनि खर्च हुन सकेको छैन।

सरकारले धोवीखोला, बाग्मती, विष्णुमती, नख्खुखोला, महादेवखोला र साङलाखोला करिडोर निर्माण सुरु गरेको छ। खोला करिडोरमा सडक निर्माण गर्नुको ध्येय खोला संरक्षण र सौन्दर्यीकरण गर्नु भए पनि तोकिएको समयमा निर्माण सम्पन्न नहुनेले स्थानीयवासीलाई राहत होइन, आहात मात्रै दिएको छ। सरकारले निर्माण कार्यमा प्रगति भएको ठानेको धावीखोला करिडोरका कारण पानी पर्दा हिलो र सुक्खा हुँदा धुलोको मारमा राजधानीवासी परेका छन्। आयोजनाको सडक किनारमा गरी कुल २२ किमि ट्रयाक खुलेको छ। तर ट्रयाक खोलेकोमध्ये ५ सय मिटर सडक पहिरोका कारण क्षतिग्रस्त भएको छ।

उक्त सडक खण्डमा आयोजनाले ६ किमि कालोपत्रे गर्ने भनेर ठेक्का गरेको भए पनि आर्थिक वर्ष २०७३/७४ मा मात्रै दुई किमि सडक कालोपत्र भएको सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले बताए। आयोजनाको पूरै सडक खण्डमा ढल राख्ने कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भए पनि हालसम्म १२ किलोमिटर क्षेत्रमा मात्रै ढल राखिएको छ। आयोजनाका लागि आव २०७३/७४ मा ४५ करोड बजेट विनियोजन भएको भए पनि तोकिएअनुसार काम हुन सकेन। तर थप ६० करोड लगानी आवश्यक पर्ने सहरी विकास मन्त्रालयको भनाइ छ।

मन्त्रालयले उक्त आयोजनालाई बहुवर्षीय ठेक्कामा लगाउने र आगामी दुई वर्षभित्र मात्रै सम्पन्न हुने जनाएको छ। मागअनुसारको बजेट प्राप्त भए ढल कालोपत्रे, टेवा पर्खाल लगाउने कार्यसमेत सम्पन्न हुने र एउटा महत्त्वपूर्ण आयोजना सम्पन्न हुने मन्त्रालयको विश्वास छ। तर स्थानीयवासीले भने सरकारले भन्दै आएअनुसार आयोजनामा प्रगति नभएकोमा गुनासो गरेको र गुनासो समेत जायज नै रहेको सचिव शर्माको भनाइ छ।

यस्तै लामो समयदेखि चर्चामा रहेको तर कार्यप्रगति सोचअनुसार हुन नसकेको अर्को आयोजना हो– बाग्मती करिडोर। उत्त, आयोजनामा हालसम्म २० किमि करिडोर र ढल बिच्छयाउने कार्य भएको र १३ किमि मात्रै सडक कालोपत्रे भएको छ। नदी किनारलाई सुन्दर बनाउन, रूखबिरुवा रोप्ने कार्यका लागि मात्रै दुई अर्ब ५० करोडको ठेक्का सम्झौता भइसकेको छ। आयोजनाका लागि चालु आवमा ७० करोड विनियोजन भएकोमा ६ किमिमा ढल र कालोपत्रे गरिने सचिव शर्माको भनाइ छ।

उपत्यकाको अर्को महत्त्वपूर्ण नदी विष्णुमतीको व्यवस्थापन कार्य अगाडि बढे पनि तोकेअनुसारको प्रगति हुन सकेको छैन। आव २०७३/७४ मा नै १२ किमि क्षेत्रमा नदी संरक्षण र पर्खाल लगाउनुपर्ने भए पनि पाँच किमि क्षेत्रमा मात्रै निर्माण सम्पन्न भएको छ। चालु आवमा सो आयोजनाको कामलाई गति दिने मन्त्रालयको भनाइ छ। नख्खुखोलामा आव २०७३/७४ मा तीन किमि करिडोर खोल्नुपर्ने योजना रहे पनि सरकारी निकायले ध्यान नदिएको, निर्माण व्यवसायीले तोकिएको समयअनुसार काम नगर्दा २ सय ७२ मिटर सडक मात्रै निर्माण हुन सकेको छ। आयोजनाका लागि चालु आवमा दुई करोड बजेट विनियोजन भएको र सम्पन्न हुन ४५ करोड लाग्नेछ। उक्त आयोजनालाई पनि बहुवर्षीय आयोजनाको रुपमा राखिएको छ।

साङ्लाखोला करिडोरको दुई किमि मात्रै करिडोरको ट्रयाक खोलिएको छ। त्यसका लागि आव २०७३र७४ मा तीन लाख ९६ खर्च मात्रै खर्च गरिएको छ। बजेट दुई करोड विनियोजन भए पनि खर्च हुन सकेन। थप बजेट माग भएको र परियोजना अगाडि बढ्ने मन्त्रालयको विश्वास छ। महादेवखोला कोरिडोर पनि तीन किमि मात्रै ट्रयाक खोलिएको छ। उक्त आयोजनाका लागि १७ करोड बजेट प्राप्त भए पनि १५ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

विशेष