ताइवानमा आँधीका कारण १ सय भन्दा बढी व्यक्ति घाइते

ताइवानमा आँधीका कारण १ सय भन्दा बढी व्यक्ति घाइते

 

साउन - १५ । ताइवानमा यस बर्षको पहिलोे आँधी शनिबार आएपछि आइतबार पुनः अर्को आँधी आउदा १११ जना घाइते भएका छन् । ताइवानको सामुद्रिक क्षेत्रमा आएको आँधीपछि लगत्तै अर्को आँधी आएपछि सामुद्रिक तटमा रहेका शहरहरू जलमग्न बनेका छन् ।

भीषण बर्षासँगै आएको हुरीका कारण बाटोमा चलिरहेका स्कुटर, मोटरसाइकल लगायतका साना सवारी साधन सडकमा अस्तव्यस्त छोडेर केही यात्रुहरूले नजीकका पक्की भवनमा शरण लिन पुगेका थिए भने घाइतमध्ये अधिकांशलाई अग्ला भवनबाट खसेका शिशाले चोट लागेको केन्द्रिय विपद व्यवस्थापन केन्द्रले जनाएको छ ।

आँधीले कतिपय पैदलयात्रीलाई सडकबाट केही फिटमाथिसम्म उडाएको प्रत्यक्षदर्शीले बताएका छन् । आँधीका कारण कतिपय ठाउँ जलमग्न भएका छन् भने केही क्षेत्रमा पहिरोसमेत गएको छ ।

आँधी प्रतिघण्टा १३७ किलोमिटरको रफ्तारमा आएको थियो । आँधीका कारण पिङटङ काउन्टी (क्षेत्र)का बस्तीहरू जलमग्न भएका छन् । प्रत्येक घरका पहिला तल्लामा घुडामाथिसम्म हिलो र फोहोर पानी जम्मा हुँदा उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय विस्थापित बनेका छन् । अहिलेसम्म ताइवानको दक्षिणी क्षेत्रबाट करिब १० हजार मानिस पूर्ण विस्तापित बनेका खबर छ भने करिब ७० हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ लगिएको छ ।

आँधीपछि ताइपेइ तथा प्रभावित क्षेत्रबाट भर्ने करिब १४५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । आँधीका कारण भएको क्षतिबारे अझै विवरण आइसकेको छैन ।

संम्बधित खबर

विशेष