News

सिँचाइमन्त्री गौतमद्वारा सिक्टाको अनुगमन

सिँचाइमन्त्री गौतमद्वारा सिक्टाको अनुगमन

साउन १५ । सिँचाइमन्त्री सञ्जय गौतमले बाँकेमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको आज स्थलगत अनुगमन गरेका छन् ।

सिँचाइमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बर्दिया जाने क्रममा बाँके आएका मन्त्री गौतमले जिल्लाको राप्ती सोनारी गाउँपालिकास्थित अगैयादेखि सिक्टा सिँचाइको बाँध अगैयादेखि मूल नहर र सहायक नहरको अवलोकन तथा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा स्थानीयवासीले नहर चाँडै निर्माण भए जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने भएकाले यसको निर्माण पूर्णताका लागि लागि पहल गरिदिन आग्रह गरेका थिए । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै त्यसका लागि पहल गरिदिन स्थानीयले आग्रह गरेका थिए ।

स्थानीयवासीसँग मन्त्री गौतमले यसको अनुगमनपश्चात् आफूले परिवर्तन गर्ने बताए । मन्त्री गौतमले सिक्टाले परीक्षणकालमा भत्किएको मूल नहरको पनि अवलोकन गरे । स्थानीयवासीले कमसल माटोको प्रयोगका कारण परीक्षणकालमै मूल नहर भत्किएको र यसको गुणस्तरीयताबारे पनि ध्यान दिनुपर्ने बताए ।

विसं २०६३ सालबाट निर्माण शुरु भएको सो आयोजनाको बाँध र मूल नहरसहित सम्पूर्ण काम आगामी आव २०७६/७७ सम्म सम्पन्न हुने र लागत खर्च रु २५ अर्ब पुग्ने अनुमान गरिएको छ । आयोजनाले सम्पन्न गर्ने कुल ४५ किमी मूल नहरमध्ये ३५ किमी खण्ड गत वर्ष सम्पन्न भएको थियो । अहिलेसम्म आयोजनाको कुल निर्माण कार्य ५५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । रासस 

विशेष