News मुख्य समाचार

अब १ घण्टाको रोड टेस्ट पछि मात्र लाइसेन्स पाइने

अब १ घण्टाको  रोड टेस्ट पछि मात्र लाइसेन्स पाइने


असार १९ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा (ट्रायल) मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ ।

यदि सडकमा गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाइसेन्सका लागि अयोग्य मानिनेछ । लेन अनुशासन, ट्राफिक बत्ती, सिट बेल्टलगायत आधारभूत नियममा लापरबाही गरे लाइसेन्स पाइने छैन ।

सरकारले सडक परीक्षा उत्तीर्ण नभए लाइसेन्स नदिने नियम लागू गर्ने तयारी गरेको उपत्यका ट्राफिक महाशाखाका डीआईजी मिङमार लामाले जानकारी दिए । दुर्घटना बढदै गएको भन्दै उनले अझ दक्ष र सिपालु चालक बनाउन यस्तो नियम लागू गर्न थालिएको बताए । ‘अन्तर्रा्ष्ट्रिय चलनअनुसार सडक परीक्षा लिनुपर्नेछ हुन्छ यो कुनै नयाँ होइन, हामीले पहिलोपटक लागू गर्न लागेका हौं,’ उनले भने, ‘१५ दिनभित्र नियम लागू गर्छौं ।’ मोटरसाइकललगायत चारपांग्रेको लाइसेन्स लिनुअघि चालकले सडक परीक्षा उत्तीर्ण गर्नुपर्ने उनले बताए ।

उपत्यका चारै नाकामा सवारीसाधन सरसफाइ (वासिङ सेन्टर) को निर्माण गरिने पनि उनले जानकारी दिए । फोहोर गाडीलाई सेन्टरमा सफाइ गरेर मात्र उपत्यका प्रवेशको अनुमति दिइने उनले बताए । नागढुंगा, जगाते, मुडखु र फर्पिङमा गाडी प्रदूषण परीक्षण र सरसफाइ सेन्टर बनाइनेछ । उपत्यकामा बढदै गएको प्रदूषण र धूलो–धूवाँ नियन्त्रण गर्न सेन्टर निर्माण गरिने उनले बताए ।

विशेष