विदेश

फेरि गर्यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण, अहिलेसम्मकै सबैभन्दा लामो दुरीमा मार हान्न सक्ने अनुमान

फेरि गर्यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण, अहिलेसम्मकै सबैभन्दा लामो दुरीमा मार हान्न सक्ने अनुमान

 

असार - २० । उत्तर कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । विश्व समुदायको आग्रहका बिपरीत उत्तरले मङ्गलबार सो क्षेप्यास्त्र परीक्षण गरेको समाचारमा जनाइएको छ ।

मङ्गलबारका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसलाई एक ठूलो समाचारका रुपमा बिहानैदेखि प्रचारमा ल्याएका छन् ।

यसलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ । किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला यता उत्तरले भने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।

सोमबारमात्र भएको अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिन चीनलाई आग्रह गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरले जारी राखेको सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बिगत लामो समयदेखि जारी तनावपूर्ण अवस्थाका बारेमा कुराकानी गर्नुभएको भोलिपल्टै उत्तरले आज यो परीक्षण गरेको छ ।

यसलाई निकै शक्तिशाली क्षेप्यास्त्रका रुपमा लिइएको छ । आणविक हतियारसम्बन्धी विज्ञहरुका अनुसार सो परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको सम्म भनेका छन् ।

यसअघि उत्तर कोरियाली नेताले आफ्नो देशले अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माणको तयारी गरिरहेको जनाउनुभएको थियो । तर यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने असम्भव भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार भएको चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको वार्तापछि गर्नुभएको ट्वीटमा उत्तर कोरियाको यस आणविक परीक्षणको कामलाई वाहियात भन्नुभएको छ र यसलाई सधैँका लागि बन्द गराउने काम गर्न चीनलाई पनि आग्रह गरेका छन् ।

कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि चीनको अहम भूमिका हुने अमेरिकी भनाई रही आएको छ । उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि हालै अमेरिका भ्रमणका क्रममा उत्तर कोरियाको यो बारम्बारको क्षेप्यास्त्र परीक्षणको खेती रोक्न आग्रह गरेका थिए।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तर रुपमा आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको विश्व समुदायको प्रतिक्रिया छ ।

संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया, जापानमात्र नभएर विश्व समुदायले यस्तो आणविक परीक्षणको क्रियाकलाप तत्कालै रोक्न उत्तर कोरियालाई कैयाँ पटकसम्म आग्रह गरी आएका छन् । तर उत्तरले उनीहरुको आवाजको बेवास्ता गर्ने गरेको छ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबारे पछिल्लो समयमा बढी मात्रामा नै चासो लिनुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उहाँले आपूm राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाएका हुन् ।

यो परीक्षणलाई उत्तर कोरियाली रक्षा अधिकारीहरुले शक्तिशाली भनेका छन् । उनीहरुले यसको औपचारिक नामाकरण र घोषणा भने गरेका छैनन् । सञ्चारमाध्यमहरुले यस परीक्षणपछि उत्तर कोरियाली नेताको प्रतिक्रिया के आउछ भन्ने बारेमा केही बताउन नसकिएको जनाएका छन् ।

यो परीक्षणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको ट्वीटमा भनेका छन्– यो मान्छे (सम्भवत उत्तर कोरियाली नेतालाई लक्षित) उसको जिवनमा राम्रो गर्ने कुनै कामै पाउँदैन कि क्या हो ?

उत्तर कोरियाली राजधानी प्योङयाङको नजिकैको एक समुद्रबाट यो क्षेप्यास्त्र परीक्षण गरिएको छ । मङ्गलबारको यो परीक्षणबाट करिब २ हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमता रहेको अनुमान जापानले गरेको छ ।

विशेष