News

निशा अधिकारीको आक्रोश,एकतर्फी समाचार छाप्नु कहाँसम्मको न्याय हो ?’

निशा अधिकारीको आक्रोश,एकतर्फी  समाचार छाप्नु कहाँसम्मको न्याय हो ?’

असार -  २१ । हरेका बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिक पत्रिकाप्रति नवविवाहित नायिका निशा अधिकारी आक्रोशित बनेकी छिन् । व्यक्तिगत जीवनलाई खलल पुर्याउने प्रकृतिको समाचार छापिएको भन्दै अधिकारी जनआस्थाप्रति रुष्ट बनेकी हुन् ।

नेपालआजसँग कुराकानीका क्रममा नायिका अधिकारीले यस्ता समाचारले आफ्नो बस्दै गरेको घर बिग्रन सक्ने बताइन् । उनले भनिन्, ‘भर्खरै विवाह भएको छ, एउटा नेपाली कलाकारलाई यसरी विवाह हुनेवित्तिकै यस्तो समाचार एकतर्फी रुपमा छाप्नु कहाँसम्मको न्याय हो ?’

उनको गुनासो जनआस्थाप्रति मात्रै छैन, अन्य अनलाइनले एकतर्फी रुपमा समाचार साभार गरेका कारण उनलाई मिडियाप्रति गुनासो रहेको छ ।

उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै जनआस्थाले प्रकाशित गरेको समाचारलाई आधार बनाएर अनलाइन मिडियाले प्रकाशित गरेपछि आफू अचम्ममा परेको बताइन् । यस्तो सम्बेदनशिल विषयमा आफूलाई नसोधी चरित्र हत्या गर्नेगरी समाचार लेखिनु न्यायसँगत नभएको बताइन् ।

निशाका पति क्रिकेटर शरद भेस्वाकरले मिडियाले गैरजिम्मेवारी तरिकाले समाचार प्रकाशित गरेकोमा निराशा व्यक्त गरे । कुराकानीको क्रममा उनले भने, ‘अरुको व्यक्तिगत विषयमा यसरी चासो राख्नु मलाई ठीक लाग्दैन ।’

केही दिन अघिमात्र निशा र शरद वैवाहिक जीवनमा बाँधिएका हुन् । चार वर्षसम्मको प्रेम जीवनलाई विवाहमा परिणत गराएका थिए ।

विशेष