News स्वास्थ्य मुख्य समाचार

चितवनमा भेटियो चिकनगुनिया, सजग रहन डाक्टरको सुझाव

चितवनमा भेटियो चिकनगुनिया, सजग रहन डाक्टरको सुझाव


असार २१ । पूर्वी चितवनको खैरहनीकी एक महिलामा चिकनगुनियाको सङ्क्रमण देखा परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ५५ वर्षीया ती महिलाको रगत परीक्षणका क्रममा चिकनगुनियाको सङ्क्रमण देखा परेको हो । भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार गर्न आएकी ती महिलामा चिकनगुनियाको सङ्क्रमण देखिएको केसीले बताए ।

जेठ १० गतेबाट ज्वरो आउन थालेपछि जेठ १९ गते ती महिलालाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल ल्याइएको थियो । छ दिनसम्म सघन उपचार कक्षमा उपचार गरी ती महिला घर फर्किएकी छन् । सोमबार मात्र सो रोगको सङ्क्रमण देखिएको जानकारी पाएपछि केसी र प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका कर्मचारी नेत्रबहादुर थापा ती महिलाको घर पुगेकी थिइन । केसीका अनुसार ती महिला पूर्णरुपमा निको भएको छ ।

थारु समुदायकी ती महिला घरबारीबाहेक अन्यत्र नगएको केसीले बताउनुभयो । ज्वरोसँगै घुँडा दुख्ने, टाउको दुख्ने, ढाड दुख्नेजस्ता समस्या भएपछि अस्पताल गएको ती महिलालाई उद्धृत गर्दै केसीले बताए । खेतबारीमा काम गर्दागर्दै ती महिला बिरामी परेकी थिइन् ।

जिल्लामा यसअघि गत मङ्सिर १७ गते पिप्लेको एक १४ वर्षीया बालिकालाई चितवन मेडिकल कलेजमा उपचारका क्रममा चिकनगुनियाको सङ्क्रमण देखिएपछि थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको थियो ।

यो रोग ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यसलाई एजिप्टी पनि भनिन्छ । यो लामखुट्टे डेंगु, जिका भाइरस तथा एलो फिबर (पहेलो ज्वरो) सार्नका लागि पनि चिनिने गर्दछ । भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीका अनुसार अफ्रिकी मुलकमा जोर्नीको दुखाइका क्रममा कुप्रो पर्ने आसनलाई चिकनगुनिया भनिन्छ । एडिस नामक लामखुट्टेले धेरै मानिसलाई टोकेमा यो रोग मानिसमा देखापर्ने गर्छ ।

विशेषगरी चिकनगुनिया सार्ने लामखुट्टेले जहिले पनि एक भन्दाबढी मानिसलाई टोक्ने भएकाले नै यसको सङ्क्रमण पनि धेरै हुने गरेको उनले बताए । चिकनगुनिया फैलाउने लामखुट्टेले डेंगुु पनि फैलाउने हुँदा यसबारे सजग हुन चिकित्सकको सुझाव छ ।

सामान्यतयाः चिकनगुनिया सार्ने लामखुट्टले टोकेको तीनदेखि सात दिनभित्र यसको लक्षण देखापर्न सुरु हुन्छ । चिकनगुनियाको सङ्क्रमण भएमा मानिसलाई एक्कासी ज्वरो आउँछ । मांसपेशी बाउँडिने, शरीरका हड्डी दुख्ने, एक हप्तामै शरीर कमजोर हुने लगायतका समस्या देखिने अधिकारीले बताउनुभयो । चिकनगुनियाको सङ्क्रमण भएमा मानिसमा उच्च ज्वरो आउँछ । ज्वरो एक्कासी बढेर १०४ डिग्रीसम्म पुग्न सक्छ ।

यसैगरी कम भोक लाग्नु, कमजोरी महसुस हुनु, टाउको दुख्नु, बेसरी जोर्नी दुख्नु, जोर्नी सुन्निनु यसका लक्षण हुन् । मांशपेशी दुख्नु, लगातार उल्टी हुनु, उल्टीमा रगत देखापर्नु पनि यस रोगका लक्षण हुन् । डा अधिकारीका अनुसार जिल्लामा डेंगुको सङ्क्रमण बढिरहेको छ । भरतपुर अस्पतालमा चिकनगुनियाको परीक्षण नहुने भन्दै उहाँले डेंगुसँग मिल्दोजुल्दो रोग भएकाले डेंगु परीक्षणमा नकरात्मक देखिएका बिरामीलाई चिकनगुनियाको परीक्षण गर्नु आवश्यक रहेको बताए ।

विशेष