News व्यापार

अदुवा बिक्री नभएपछि कृषक निराश

अदुवा बिक्री नभएपछि कृषक निराश

असार २२ । मकै र कोदो छाडेर अदुवा खेती गर्न थालेका पर्वतका कृषक उत्पादनले बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका हुन् ।

लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो । अदुवाले उचित मूल्य र बजार नपाएको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदीले गुनासो गरे ।

उनले बिक्री नभएपछि पाँच हजार किलोग्राम अदुवा बारीमै कुहाएर राख्न बाध्य भएको बताए । “प्रतिकिलो ८० रुपैयाँमा बिउ किनेर लगाएको अदुवा २० रुपैयाँमा पनि बिक्री भएन्,” सुवेदीले भने, “लगानीसमेत उठ्न नसकेपछि कृषक चिन्तित छन् ।”

सो क्षेत्रमा उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुस्मा, पोखरा र भारत हो । भारतले पछिल्लो दुई वर्षयता नेपालबाट कम मात्रामा अदुवा लैजान थालेपछि त्यसको मर्का कृषकलाई परेको छ ।

औषधीय गुण बोकेको अदुवा दाल, तरकारी र अचारमा समेत प्रयोग हुँदै आएको छ । नेपालमा अदुवाको प्रयोग न्यून छ भने यसलाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ ।

दुई वर्ष पहिले ६० देखि ८० रुपैयाँ प्रतिकिलोका दरले अदुवा बिक्री हुने गरेको स्थानीय कृषक राधीका सुवेदीले बताइन् । पर्वतका विभिन्न गाउँपालिकाका गरी झन्डै ५ सयभन्दा बढी घरधुरीले व्यावसायिक अदुवा खेती गर्दै आएका छन् ।

एक जना कृषकले वर्षमा दुईदेखि पाँच क्विन्टलसम्म अदुवा उत्पादन गर्छन् । सडक भए पनि यातायातको सुविधा नहुँदा पिठ्युमा भारी बोकेर म्याग्दीको बेनीमा अदुवा, दूध, तरकारी लगायत कृषि उपज बिक्री गर्न आउने गरेका छन् । अदुवा भण्डारण गर्ने व्यवस्था भएमा बेसिजनमा बिक्री गर्न सकिने कृषकहरू बताउँछन् ।

विशेष