विदेश

पत्रकारको हत्यारालाई मृत्युदण्ड

पत्रकारको हत्यारालाई मृत्युदण्ड


असार २२ । श्रीलंकाको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसी गुणसेखराको हत्या अभियोग लागेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ ।

अभियुक्त एन्टोनी रामसन जर्ज्विरुद्ध तीन वर्षदेखि चलेको मुद्दामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङ्घाले मृत्युदण्डको फैसला सुनाएका हुन् ।
४० वर्षीय मेलिसी मेलको नामले चर्चित थिए । उनले लन्डनको इस्ट लन्डन विश्वविद्यालयबाट स्नातक गरेका थिए । स्थानीय ‘सन्डे टाइम्स’ नामक पत्रिकामा सम्पादकको रूपमा कार्यरत उनी एएफपीका लागि कोलम्बो संवाददातासमेत थिए ।

सन् २०१४ को फेब्रुअरी २ का दिन कोलम्बोमा रहेको आफ्नै घरमा उनको हत्या भएको थियो । उनी घरकै भान्सा कोठामा मृत भेटिएका थिए । हत्यारा ठानिएका व्यक्तिले पहिला उनकै घरमा रंग लगाउने काम गर्थे । पछि हत्याका लागि उनैलाई भाडामा लिइएको अनुमान गरिएको थियो । हत्यारा पहिचान भइसकेपछि सरकारी वकिलहरूले उनलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।

विशेष