विदेश

बंगलादेशमा वर्षाका कारण नौ लाख जनता प्रभावित

बंगलादेशमा वर्षाका कारण नौ लाख जनता प्रभावित


असार २२ । भारी मन्सूनी बर्षाबाट अहिलेसम्म बंगलादेशमा करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव शाह कमालले सञ्चार माध्यमलाई आज बताएका छन् ।

खासगरी, उत्तरपूर्वी बङ्गलादेशका दुईः सिल्हेट र मोल्बी बजार तथा दक्षिणपूर्वी खण्डको एकः कक्स बजारसमेत गरी जम्मा तीन जिल्ला यस पटकको भारी बर्षा र बाढीबाट प्रभावित भएका एकजना उच्च सरकारी अधिकारीले बताएका छन् ।

सरकारले ढिलाई नगरी बर्षा र बाढीबाट पीडित जनताहरूको तत्कालै उद्धारकार्य सन्चालन गरेको र बाढीबाट विस्थापित बाढीबाट करिब दुई हजार परिवारलाई तुरुन्तै राहत सामाग्री उपलब्ध गराई अस्थायी बसोबासको प्रबन्ध मिलाएको पनि उक्त सरकारी अधिकारीले बताए ।

भारी बर्षाका कारण देशभरका पहाडी इलाकाबाट भारतीय सीमानासम्म बाढी आई जताततै जलमय हुनाले उद्धार कार्य सन्चालनमा हम्मे हम्मे परेको थियो ।
बाढीले कुनै कुनै ठाउँका पूरै बस्ती नै बगाएको, असङ्ख्य बालीनाली सखाप पारेको, धेरै स्थानका सडक तथा राजमार्ग सञ्जालमा व्यापक क्षति पु¥याएको जनाइएको छ । कतिपय ग्रामीण इलाकामा खेतीयोग्य जमीन नष्ट पारेको, भवन लगायतका थुप्रै भौतिक संरचनामा समेत बिनाश भएको छ ।

बाढीकै कारण सयौं बिद्यालयहरू बन्द गर्नु परी पठन पाठन कार्य समेत ठप्प भएका छन् । चीनलगायत बिभिन्न मित्रराष्ट्रहरूले बर्षा तथा बाढी पीडितहरूका लागि राहत सामाग्री तथा आर्थिक सहयोग उपलब्ध गराएका छन् र यो क्रम निरन्तर जारी छ ।

दक्षिण एसियाकै होचो मैदानी भूभाग भएको बङ्गलादेशमा साना ठूला गरी दुई सय ३० वटा भन्दा बढी नदी नाला छन् । यस मुलुकले प्रत्येक बर्ष, सानो होस् या ठूलो, मन्सूनी बर्षा भएपछि त्यसबाट उत्पन्न पीडा भोग्दै आउनु परेको छ ।

विशेष