News

परराष्ट्रमन्त्री महराद्वारा ‘पासपोर्ट’ सार्वजनिक (भिडियोसहित)

परराष्ट्रमन्त्री महराद्वारा ‘पासपोर्ट’ सार्वजनिक (भिडियोसहित)

 

असार - २३ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमूलक वृत्तचित्र ‘पासपोर्ट’ आज सार्वजनिक गरेका छन्

राहदानी विभागको सक्रियतामा तयार पारिएको उक्त वृत्तचित्रमा राहदानी लिनका लागि आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा पर्याप्त जानकारी उपलब्ध गराइएको छ । 

झन्डै २४ मिनेट लामो वृत्तचित्रको सार्वजनिक भएसँगै सर्वसाधारणले इन्टरनेटबाटै राहदानी तथा कन्सुरसम्बन्धी जानकारी प्राप्त गरी लाभ लिन सकिने विश्वास लिइएको छ । उक्त वृत्तचित्र विभागको वेबसाइट, युट्युब, फेसबुकलगायतका अन्य सामाजिक सञ्जालमार्फत हेर्न सकिने विभागले जनाएको छ । 

मन्त्री महराले नारायणहिटीस्थित राहदानी विभागको विभागीय जानकारीसमेत लिए । उनले लाइभ इनरोलमेन्ट सेन्टर, राहदानी आवेदन फारम प्रशोधन कक्ष, गुनासो व्यवस्थापन शाखा तथा गुणस्तर परीक्षण शाखाको अवलोकन गरे । 

विभागको अवलोकन तथा जानकारी लिएपश्चात् परराष्ट्रमन्त्री महराले विभागको कामकारबाहीलाई सेवाग्राही मैत्री बनाउन निर्देशन दिँदै सर्वसाधारणका गुनासोलाई विशेष ध्यान दिनुपर्ने बताए । 

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास बैरागीले विभागको कार्यसम्पादन, विद्यमान समस्या र भविष्यमा आइपर्नसक्ने नीतिगत तथा व्यावहारिक चुनौतीका विषयमा जानकारी दिएका थिए। विभागका महानिर्देशक रामजी खड्काले विभागबाट प्रवाह हुने सेवा र सो कार्यमा देखिएका समस्याका विषयमा मन्त्रीलाई जानकारी गराए । 

यसैबीच भूतपूर्व ब्रिटिस गोरखा सैनिक संयुक्त सङ्घर्ष समितिले परराष्ट्रमन्त्री महरालाई भेटेर पूर्वब्रिटिस सैनिकका मागका विषयमा पहल गरिदिन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयमा सङ्घर्ष समितिको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री महरालाई आज भेटेर सो माग प्रस्तुत गरेको हो । मागबारे जानकारी गराउँदै सांसद दीलमान पाख्रिनले २०० वर्षअघिदेखिको समस्या समाधानमा पहल गरिदिन अनुरोध गरे ।

विशेष