News

द्वन्द्वमा मारिने र बेपत्ताको संख्या बढेको–बढ्यै, मृतकको संख्या २० हजार नजिक

द्वन्द्वमा मारिने र बेपत्ताको संख्या बढेको–बढ्यै, मृतकको संख्या २० हजार नजिक

असार २३ । माओवादी द्वन्द्वका क्रममा मृत्यु तथा बेपत्ता हुनेको संख्या कार्यदलपिच्छे थपिने गरेको छ ।

पछिल्लोपटक गठन भएको कार्यदल (पाँचौँ)सम्म आइपुग्दा मृतक र बेपत्ता हुनेको संख्या १९ हजार ८ सय ६ पुगेको छ । यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो । पछिल्लो पटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन् । कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा (१ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म) मारिएका र बेपत्ता भएकाको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनस्स्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताए ।

द्वन्द्वका क्रममा १० हजार ९ सय ९६ जना घाइते भएका छन् । घाइतेलाई उपचार खर्चवापत बढीमा एक लाख रुपैयाँसम्म दिइने जोशीले बताए । ८२ हजार ६ सय ६१ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले राहत दिइने भएको छ । सरकारैपिच्छे गठन हुने कार्यदलले आशंका उब्जिएको चौथो कार्यदलका संयोजक दीपेन्द्र पुन ‘सिजल’ले बताए । ‘द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका व्यक्ति छुट्नु र दोहोरिनुहुँदैन,’ उनले भने, ‘वास्तविक छानबिन गरेर मात्र संख्या किटान गरिनुपर्छ ।’ सरकारले द्वन्द्वमा मारिएका परिवारलाई दिने रकम १० लाख र्पुयाएको छ । यसअघि ५ लाख लिइसकेका पीडित परिवारले थप ५ लाख रुपैयाँ पाउने भएका छन् । राहतका लागि ८ अर्ब ७१ करोड ६२ लाख १० रुपैयाँ निकासा भइसकेको छ । असारभित्र जिल्ला प्रशासन कार्यालयबाट राहत लिइसक्नुपर्नेछ ।

सरकारले पहिलो किस्तामा एक लाख, दोस्रो किस्तामा दुई लाख र तेस्रो किस्तामा दुई लाख गरी प्रतिव्यक्ति पाँच लाख रुपैयाँ राहत दिइसकेको छ।

नयाँ पत्रिका

विशेष