News

तयारी नपुगेर काठमाडौँमा नगरपालिका सभा हुन सकेन

शरद शर्मा

तयारी नपुगेर काठमाडौँमा नगरपालिका सभा हुन सकेन

 

असार - २५ । तयारी नपुगेका कारण काठमाडौँका अधिकांश नगरपालिकाको नगरसभा हुन सकेन ।

आजदेखि स्थानीय तहमा बजेटका लागि हुने भनिएको ‘नगरसभा’ पर्याप्त तयारी नपुगेको भन्दै अधिकांश नगरपालिकाले केही दिन पछि सारेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आजदेखि नगरसभामार्फत पहिलो बजेट सार्वजनिक गर्ने निर्देशन दिएपनि काठमाडौँका नगरपालिकाले पर्याप्त समय नभएको भन्दै आगामी शुक्रबारलाई तोकेका छन् । मन्त्रालयले शुक्रबारसम्म नगरसभामार्फत बजेट पेश गर्न निर्देशन दिएको छ ।

कामपा, गोकर्णेश्वर, शङ्खरापुर, नागार्जुन, बूढानीलकण्ठ, टोखालगायत नगरपालिकाले तयारी नपुगेका कारण शुक्रबार मात्र नगरसभा गर्ने निर्णय गरेका छन् ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सभाका लागि तयारी नपुगेका कारण यही ३० गतेका लागि सारिएको जानकारी दिनुभयो । उहाँले वडास्तरबाट योजना अझै नआइपुगेकाले आगामी शुक्रबार सभा राखिएको बताए।

“जनप्रतिनिधि पनि ढिला निर्वाचित हुनुभयो जसले गर्दा वडास्तरका योजना अझै सकिएका छैनन्”–उनले भने, “अब केही दिनमा वडास्तरबाट आएका योजनालाई कार्यपालिका बैठकबाट अनुमोदन गराएर नगरसभामा पेश गर्दछौँ ।”

स्थानीय तहमा वर्षभरि हुने चालु खर्च, पूँजीगत खर्च, स्थानिय राजस्व र स्थानीय सरकार सञ्चालनका लागि स्रोतसहितको बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा कार्यालयबाट योजना छनोट भइरहेकाले नगरसभा ढिलो हुने भएको बताउनुभयो । उहाँले भर्खरै निर्वाचित जनप्रतिनिधिले काम गर्न नभ्याएकाले शुक्रबार मात्र नगरसभा गरिने बताए ।

“समय अभावका कारण वडाबाट अझै योजना छनोट भएर आएका छैनन्”–उनले भने, “सोमबार सभा उद्घाटन गरेर शुक्रबार सबै योजना पारित गर्छौँ ।” वडाबाट आएका योजनालाई बजेट तथा तर्जुमा समितिले पास गराएर नगरसभामा लैजाने गर्दछ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पनि तयारी नपुगेका कारण शुक्रबार गर्ने निर्णय गरिएको जानकारी गराए ।

विशेष