News देश

रहेनन् १००८ डा. स्वामी रामानन्द गिरि

रहेनन् १००८  डा. स्वामी रामानन्द गिरि


असार २५ । पूर्वीय दर्शनका विद्वान डा. स्वामी रामानन्द गिरिको निधन भएको छ । उनको काठमाडौंको पशुपतिनाथस्थित महेश सन्यास आश्रममा शनिबार साँझ ७ बजे निधन भएको उनका अनुयायी कृष्ण आचार्यले जानकारी दिए ।

देवघाटमा प्रवचनका क्रममा स्वास्थ्यमा समस्या आएपछि ६९ वर्षीय रामानन्दलाई उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । शनिबार साँझ उनलाई अस्पतालबाट आश्रममा ल्याएपछि आश्रममा नै उनले अन्तिम स्वास लिएको आचार्यले बताए ।

डा. स्वामी रामानन्दका ’जनकदर्शन’ (विद्यावारिधि शोधग्रन्थ),’माण्डूक्यकारिका’ (नेपाली अनुवाद तथा व्याख्या), ’रामगीता’ (नेपाली अनुवाद तथा व्याख्या), ’वेदस्तुति’ (नेपाली अनुवाद तथा व्याख्या), ’श्रीमद्भागवतमहापुराण’ (नेपाली अनुवाद–रामनन्दी टीका), ’देवीगीता’ (नेपाली अनुवाद तथा व्याख्या), ’दुर्गासप्तशती’ (नेपाली अनुवाद एवं व्याख्या) लगायतका कृति प्रकाशित छन्। उनी प्रवल गोरखा दक्षिणबाहु लगायत विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित छन् ।

स्वामीको प्रार्थिव शरीरलाई आज अन्तिम संस्कार गरिने आचार्यले बताए । उनी २००५ सालमा धादिङको केवलपुरमा जन्मिएका थिए ।

विशेष