यही महिनाभित्रै अमेरिका नियन्त्रित गुआममा चार मिसाइल हान्ने उत्तर कोरियाको योजना
अमेरिकी धम्कीविरुद्ध प्योङयाङमा जनताको विशाल प्रदर्शन
प्योङयाङ । उत्तर कोरियाले यसै मध्य अगस्तमा अमेरिकी नियन्त्रणमा रहेको प्रशान्त क्षेत्रको गुआम द्वीप नजिकै चारवटा मिसाइल प्रहार गर्ने योजना रहेको बताएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले सेना प्रमुख किम राक ग्योमलाई उदृत गर्दै ह्वासंग–१२ रकेट जापान र अमेरिकी नियन्त्रणमा रहेको गुआमको ३० किलोमिटर नजिकै पुग्ने गरी लञ्च गर्नका लागि नेता किम जोङ–उनले स्वीकृति दिइसकेको जनाएको छ ।
अमेरिकाले उत्तर कोरियामाथि सोच्दै नसोचेको भयानक आक्रमण गर्ने धम्की दिएलगत्तै उत्तर कोरियाले चार वटा मिसाइल आक्रमण गर्ने तयारी रहेको बताएको हो । अमेरिकाले उत्तर कोरियाले मिसाइल प्रहार गरेमा किम जोङ–उनका शासन सत्ताको अन्त्य हुने र ठूलो जनधनको क्षति बेहोर्नुपर्ने अवस्था आउने चेतावनी दिएको थियो ।
अमेरिकी रक्षामन्त्री जेम्स माटिसले प्योङयाङलाई अमेरिका र अमेरिका निकटका राष्ट्रमाथि आक्रमण भएमा त्यो उसका लागि प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । बीबीसीले गुआममा रहेका संवाददातालाई उदृत गर्दै उत्तर कोरियाले आक्रमण गरेमा त्यो उत्तर कोरियाली किम शासनका लागि आत्मघाती हुने बताएको छ ।
यसैबीच गुआमका गभर्नरले गुआममाथि आक्रमण भएमा त्यो अमेरिका माथि भएको आक्रमणका रुपमा लिइने र यस्तो आक्रमण उत्तर कोरियाका लागि ‘आगोको घेरा’ हुनसक्ने चेतावनी दिएका छन् ।
कुनै पनि अमेरिकी भूभागमाथिको आक्रमण उत्तर कोरियाका लागि आगोमा खेल्नु सरह हुने उनको भनाई थियो । बिहीबारमात्रै मध्य अगस्टसम्मा गुआम नजिकको पानीमा उत्तर कोरियाली मिसाइल प्रहार गर्ने योजना सार्वजनिक भएलगत्तै गर्भनर इड्डाई काल्भोले उत्तर कोरियाली नेतालाई यस्तो चेतावनी दिएका हुन् ।
केही गुआमबासीले भने उत्तर कोरियाले आक्रमण गर्ने अवस्थामा आफूहरुलाई बचाउन अमेरिकी सेना सक्षम हुने विश्वास व्यक्त गरेका छन् भने केहीले त्यहाँ आकस्मिक रुपमा आक्रमण भएमा के गर्ने भन्ने बारेमा समेत छलफल गरेको अल जजिराले जनाएको छ ।
गुआमका स्थानीयबासी केट क्विमबाओले भनिन्, ‘वास्तममा नै यो डरलाग्दो अवस्था हो । हामी कहाँ जाने र सुरक्षित हुने भन्ने बारेमा म मेरो परिवारसँग सल्लाह पनि गरिरहेकी छु ।’ करिब १ लाख ६३ हजार जनसंख्या रहेको सो टापुमा अमेरिकी एयरबेससहित ६ हजारभन्दा बढी अमेरिकी सैनिक कार्यरत रहेका छन् ।
उत्तर कोरियाले बिहीबारमात्रै गुआममाथि मिसाइल प्रहारबारे योजना बनाइरहेको खबर सार्वजनिक भएपछि झनै खतरा उत्पन्न भएको संकेत गरेको छ । सरकारी समाचार एजेन्सी केसिएनएले सैनिक भनाईलाई उदृत गर्दैै मिसाइल प्रहारको योजना तयार भएको र नेता किम जोङ–उनसमक्ष पुगेको जनाएको छ ।
कोरियाली सेनाले परीक्षण गर्ने ह्वासंग–१२ जापानको शिमाने, हिरोसिमा र कोचीमाथिबाट गुआम द्वीप क्षेत्रमा जाने केसिएनएले सैनिक प्रमुख किम राक–ग्योनले जनाएको उल्लेख गरेको छ । ती मिसाइल १ हजार ०६५ सेकेण्डमा ३ हजार ३ सय ५६ किलोमिटर लामो दुरी पार गरी गुआमको ३०–४० किलामिटर नजिक समुद्रमा खस्नेछन् ।
ह्वासंग मिसाइल उत्तर कोरियामा निर्माण भएको मध्यम र लामो दुरीमा प्रहार गर्न सकिने हतियार हो । उत्तर कोरियाले पछिल्लो समयमा अमेरिकी क्षेत्रमा नै आक्रमणको धम्की दिएपछि त्यस क्षेत्रमा अर्को तनाव उत्पन्न भएको छ ।
जापानले उत्तर कोरियाको धम्कीलगत्तै उच्च सतर्कतामा रहन भनेको छ । जापानी सरकारका प्रवक्ता योसिहिदे सुगाले उत्तर कोरियाको गतिविधि जापान र अन्तर्राष्ट्रिय समुदायलाई समेत उत्तेजित बनाउने खालको भएको भन्दै आलोचना गरेका छन् । यसप्रकारका उत्तेजक गतिविधि आफूहरुलाई स्वीकार्य नहुने उनको भनाई थियो ।
यसैबीच, उत्तर कोरियाको राजधानी प्योङयाङस्थित किम इल सङ स्क्वायरमा उत्तर कोरियाली नागरिकले अमेरिकी धम्कीको विरोध गर्दै विशाल प्रदर्शन गरेका छन् । सो प्रदर्शनमा उत्तर कोरियाका वरिष्ठ अधिकारीहरु किम कि नाम, चोए थाए बुक, रि सु योङ, किम योङ देसहितको उपस्थिति रहेको थियो ।
सेतो पोशाकमा उपस्थित भएका उनीहरुले उत्तर कोरियामाथि अमेरिकाले दिएको धम्की र प्रतिबन्धको विरोध गर्दै कोरियाली झण्डा र नेता किम इल सङको तस्बिर समेत लिएर प्रदर्शन गरेका हुन् । सो प्रदर्शनमा उत्तर कोरियाका विद्यार्थी र युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
राजधानीडेलीडटकम