चीनलाई एकै पटक दुई जोडी गैंडा दिन कानुन बाधक
साउन २६ । सरकारले चीनलाई गैंडा दिन नपाउने भएको छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐन २०७४ ले गैंडा दिन रोक लागेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी एकसिंगे गैंडा दिन सम्झौता भइसकेको बताए । एक आर्थिक वर्षमा बढीमा एक जोडीसम्म मात्र दिन पाइने प्रावधान भएकाले एकैपटक चीनलाई दुई जोडी गैंडा दिन कानुनी समस्या उत्पन्न भएको हो । एकै पटक दुई जोडी गैंडा चीनलाई दिए नेपाल साइटिसको कारबाहीमा पर्न सक्छ ।
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐन २०७४ को दफा २७ (१) मा सरकारको विशेषाधिकार महलमा संकटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणमा सरकारको प्रयासलाई सहयोग र्पुयाउने वा सो प्रयोजनका लागि अध्ययन, अनुसन्धान उपलब्धिमूलक बनाउन प्राविधिक सहयोग र्पुयाउनेछ।
कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धान प्रयोजनका लागि नेपाल सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको संकटापन्न वन्यजन्तु नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकका रूपमा उपहारस्वरूप त्यस्तो मुलुकलाई उपलब्ध गराउन सक्नेछ भनी उल्लेख छ ।
–अन्नपूर्ण पोस्ट्बाट