विदेश

किन मिसाइल आक्रमण गर्न चाहन्छ उत्तर कोरिया अमेरिका नियन्त्रित गुआम टापुमा ? जित हारको यस्तो छ अंकगणित

किन मिसाइल आक्रमण गर्न चाहन्छ उत्तर कोरिया अमेरिका नियन्त्रित गुआम टापुमा ? जित हारको यस्तो छ अंकगणित

 

कोरियाली प्रायद्वीप लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । दोस्रो विश्वयुद्धपछि सिंगो कोरिया पुँजीवादी र साम्यवादी खेमामा विभक्त हुँदै उत्तर र दक्षिण कोरियाका रूपमा विभाजित भयो । कोरियाली प्रायद्वीपमा भएको युद्ध पनि दुई कोरियाबीचको युद्धभन्दा फरक शक्ति राष्ट्रहरूबीचको युद्धका रूपमा देखा प-यो । कोरियाली प्रायद्वीपमा दोस्रो विश्वयुद्धपछि जारी तनाव अहिले पनि त्यस्तै छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले उसमाथि लगातार नाकाबन्दी लगाउँदै आएको भए पनि उत्तर कोरियाले त्यसको ढटेर सामना गरिरहेको छ । आखिर उत्तर कोरिया र दक्षिण कोरियाबीच किन विवाद छ ? उत्तर कोरियाको हरेक कदममाथि दक्षिणको नजर किन रहन्छ भन्ने बारे हामीले त्यसको इतिहासको पाटोलाई गम्भीरतापूर्वक अध्ययन गर्नु जरुरी छ । हाल आएर उत्तर कोरियाले अमेरिकाको नियन्त्रणमा रहेको गुआम टापुमा चारवटा मिसाइल प्रहार गर्ने योजना सार्वजनिक गरेपछि अमेरिका र उत्तर कोरियाबीच झनै तनाव उत्कर्षमा पुगेको हो । कतिपयले यो वाक्युद्ध वास्तविक युद्धमा परिणत हुने आशंका समेत व्यक्त गर्न थालेका छन् भने गुआममा उत्तर कोरियाको सम्भावित मिसाइल प्रहारको आशंकामा जनताहरूमा समेत त्रास सिर्जना भएको छ । करिब १ लाख ६३ हजार जनसंख्या रहेको गुआमको एक चौथाइ भूभागमा अमेरिकी सैन्य क्याम्प रहेको छ । यहाँका जनताले समेत अमेरिकी नागरिकता पाउने भए पनि मताधिकार भने पाएका छैनन् । यद्यपि सन् १८९८ मा अमेरिकी सेना प्रवेश गरेपछि यो द्वीप निरन्तर अमेरिकी नियन्त्रणमा रहँदै आएको छ ।

दोस्रो विश्वयुद्धका क्रममा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेको दुई दिनपछि यो द्वीपमा नियन्त्रण कायम गरेको थियो । जुन दोस्रो विश्वयुद्धको अन्त्यसम्म जारी रह्यो । त्यसपछि पुनः यसमाथि अमेरिकाको नियन्त्रण रहँदै आएको छ । अमेरिकादेखि करिब ११ हजार किलोमिटर टाढा रहेको यो द्वीप नै एसियाली क्षेत्रमा सैन्य गतिविधि सञ्चालन गर्ने अमेरिकाको सबैभन्दा ठूलो केन्द्र भएकाले पनि उत्तर कोरियाको नजर यही टापुमा परेको हो । करिब ७ हजार अमेरिकी सेना तैनाथ रहेको गुआम टापुमा कुनै प्रकारको क्षति उत्तर कोरियाले पु¥याएको अवस्थामा तत्काल युद्ध हुने कुरालाई नकार्न सकिँदैन । किनकि ७ डिसेम्बर १९४१ मा जापानले पर्ल हार्बरमा आक्रमण गरी २४ सय अमेरिकी सैनिकको हत्याको घटनाले दोस्रो विश्वयुद्धमा विनाशलाई निम्त्याएको थियो भने गुआममा अमेरिकी सैनिक बेसमाथि आक्रमण भएमा त्योभन्दा ठूलो क्षति हुने अवस्था छ । तसर्थ उत्तर कोरिया र अमेरिकाबीच तत्काल कुनै प्रकारको युद्धको अवस्था सिर्जना भएमा त्यसले विध्वंसात्मक रूप लिन सक्छ । यद्यपि तत्काल यी दुई आणविक शक्ति राष्ट्रबीच युद्ध नै हुने सम्भावना प्रबल होइन । युद्धको अवस्थाको सिर्जना हुनका लागि अमेरिकाको भूमिका कस्तो हुन्छ भन्ने कुरामा निर्भर गर्नेछ ।

उत्तर कोरिया–अमेरिका वाक्युद्ध

उत्तर कोरिया र अमेरिकाबीच पछिल्लो समयमा वाक्युद्ध चलिरहेको छ । दिनदिनै एकले अर्कोमाथि हमला गर्ने चेतावनीले कतै दुई देश एक आपसमा भिड्ने हुन् कि भन्ने आशंका पनि उब्जाएको छ । यद्यपि यो वाक्युद्धका पछि सबैभन्दा बढी अमेरिकी हेपाहा प्रवृत्ति जिम्मेवार छ । अमेरिकाले बारम्बार उत्तर कोरियाको आणविक विकास विश्वका लागि खतरा भएको बताउने गरेको छ । के त्यसो हो भने अमेरिका र उसको पक्षमा रहेका राष्ट्रले गरेको आणविक विकास विश्वका लागि ‘वरदान’ सावित हुन्छ त ? यो प्रश्न पनि सँगै आउने गर्छ । आफूबाहेक अरू राष्ट्रले आणविक हतियार नबनाओस्, विकास नगरोस् र त्यसमाथि आफ्नो एकाधिकार कायम भई संसारलाई आफ्नो प्रभावभित्र राख्न सकियोस् भन्ने अमेरिकी सोच कोरियाली क्षेत्रमा तनाव उत्पन्न गराउने पहिलो कारक तŒव हो । दोस्रोमा एकपटक पश्चिमा देशको आक्रमणमा परिसकेको र आफूलाई पनि आणविक शक्तिका रूपमा विकास गराउने र आफूमाथि आक्रमण भएको खण्डमा त्यसको गतिलो जवाफ दिने उत्तर कोरियाली चाहनाले यो क्षेत्रमा तनाव सिर्जना गरेको छ । निःसन्देह रूपमा अबको विश्वको नेतृत्व एसियाको नै हो । त्यस्तो अवस्थामा अमेरिकाले धेरै पहिलेदेखि नै एसियाली राष्ट्रभित्र फुटाउ र राज गरेको नीति अख्तियार गर्दै आइरहेको छ ।

अहिले पनि दुई आणविक शक्ति राष्ट्रबीच युद्धको अवस्था सिर्जना भएमा सबैभन्दा बढी विकासको गतिमा तीव्र रूपमा अघि बढिरहेका यी राष्ट्रमाथि क्षति पुग्ने अवस्थाको सिर्जना हुन्छ । त्यसकारण अमेरिका र उत्तर कोरियाको विषय मात्रै नभई विश्वलाई नै निःशस्त्रीकरणका माध्यमबाट अघि बढाउन सबै पक्ष जिम्मेवार भएर वार्तामा बस्न जरुरी छ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘उत्तर कोरियालाई जिम्मेवार आणविक शक्ति राष्ट्रको मान्यता दिएर वार्ताका माध्यमबाट समस्या समाधान गरिनु सबैको हितमा हुन्छ । त्यसभन्दा पनि पहिलो कुरा त विश्वलाई नै निःशस्त्रीकरण गर्ने कुरा हो । आणविक राष्ट्रले अन्य सबै राष्ट्रलाई विश्वासमा लिएर यस्तो हतियारलाई विस्थापित गरी आणविक हतियारविहीन विश्वको निर्माण गर्नुपर्छ ।’ अमेरिका अहिले आणविक शक्ति सम्पन्न राष्ट्र मात्रै नभई उसले कतिपय एसियाली क्षेत्रमा आफ्ना सैन्य अड्डाहरू निर्माण गरेर बसेको छ ।

जापान, दक्षिण कोरिया, कतारलगायतका देशमा उसका ठूला सैन्य अड्डा रहेका छन् भने सन् १८९८ मा अमेरिकाले कब्जामा लिएको गुआम टापुमा करिब ७ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् । सो द्वीपको एक चौथाइ भागमा अमेरिकी सैनिकको एयरबेस रहेको छ । जसबाट उसले उत्तर कोरिया, दक्षिण चीन सागर र ताइवानजस्ता क्षेत्रलाई नियाल्ने गर्छ । सोही कारण पनि अहिले उत्तर कोरियाले गुआममाथि आक्रमणको चेतावनी दिएपछि अमेरिका त्यसविरुद्ध चर्को प्रचारबाजीमा उत्रिएको हो ।

उत्तर–दक्षिण कोरिया द्वन्द्व

दोस्रो विश्वयुद्धपछि दक्षिण कोरिया र उत्तर कोरिया दुई अलग राष्ट्र बनेका हुन् । यो विभाजनपछि दुवै राष्ट्रले अगल अलग बाटो रोजे । उत्तर कोरियाले किम इल सङको नेतृत्वमा समाजवाद र साम्यवादको कठिन मार्ग रोज्यो भने दक्षिण कोरियामा पश्चिमा प्रजातान्त्रिक शासन व्यवस्था चल्यो । कोरियामाथि सन् १९१० देखि सन् १९४५ सम्म जापानको नियन्त्रण कायम थियो । दोस्रो विश्वयुद्धमा जापान अमेरिकाले दुई शक्तिशाली परमाणु बम खसालेर ध्वस्त पारेपछि आत्मसमर्पण गर्न बाध्य भयो । जतिबेला कोरियाको उत्तरी क्षेत्रमा सोभियत र दक्षिणी क्षेत्रमा अमेरिकी सेना थिए । यसैको पृष्ठभूमिमा यहाँ साम्यवाद र लोकतन्त्रको संघर्ष सुरु भएको हो । २०औं शताब्दीको यो विभाजनपछि आजसम्म पनि कोरियाली प्रायद्वीपमा ठूलो विवादको विषय बन्दै आएको छ । जापानको शासनबाट मुक्त भएपछि सन् १९४७ मा अमेरिकाले संयुक्त राष्ट्रसंघको सहायतामा कोरियालाई एक राष्ट्र बनाउने प्रयास गरेको थियो । त्यसपछि राष्ट्र संघीय आयोगको निगरानीमा चुनाव गराउने निर्णय भयो । मे १९४८ मा कोरियाको दक्षिण भागमा निर्वाचन भयो र १५ अगस्टमा रिपब्लिक अफ कोरिया (दक्षिण कोरिया) बनाउने घोषणा भयो । त्यो निर्वाचनमा सामेल नभएको कोरियाको उत्तरी क्षेत्रमा सुप्रिम पिपुल्स एसेम्बलीको निर्वाचन भयो र डेमोक्रेटिक रिपब्लिक अफ कोरिया (डीपीआरके) अर्थात् उत्तर कोरिया सन् १९४८ सेप्टेम्बरमा घोषणा भयो । त्यसपछि यी दुई देशबीचमा राजनीतिक संघर्षको अवस्था देखा प-यो, जुन पुँजीवाद र साम्यवादबीचको संघर्षका रूपमा रह्यो । यसै संघर्षबीच अमेरिकी सेनाको नेतृत्वमा १५ वटा देश दक्षिण कोरियाको पक्षमा सन् १९५० मा युद्धमा होमिए । रुस, चीनजस्ता साम्यवादी खेमाका राष्ट्रले उत्तर कोरियालाई साथ दिए । यो युद्धमा अमेरिकापछि हट्न बाध्य भयो । सन् १९५३ मा युद्ध अन्त्य भएपछि दुई स्वतन्त्र राष्ट्र बने, उत्तर कोरिया र दक्षिण कोरिया । विभाजनको समयमा निकै कमजोर अवस्थामा रहेका यी दुवै राष्ट्र आज विश्वको ध्यान आफूतिर खिच्न सफल छन् । दक्षिण कोरियालाई अमेरिकाको सहयोग रह्यो भने उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय प्रतिबन्धका बाबजुद आफूलाई आणविक शक्ति राष्ट्रका रूपमा उभ्याइसकेको छ । उत्तर र दक्षिण कोरियाबीचको विभाजनको दरार भने अझै पनि मेटिएको छैन ।

उत्तर कोरियाको चाहना

उत्तर कोरियाले आफ्ना राजनीतिक सोचलाई भाषणबाजीका माध्यमबाट भन्दा पनि त्यहाँको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का माध्यबाट बाहिर ल्याउँछ । अहिले पनि उसले गुआम द्वीपमाथि आक्रमणको योजनाबारे यही समाचार एजेन्सीमार्फत बाहिर ल्याएको हो । जसले उत्तर कोरिया अमेरिकी धम्कीपछि निकै चनाखो भएको र अमेरिकी सैन्य अड्डाहरूमा हमला गर्न सक्ने शक्ति सञ्चय गरेर बसेको सन्देश दिन चाहेको छ । उसले पटकपटक आफू शक्तिशाली दुस्मनसँगको युद्धमा रहेको र यसबाट आफ्नो देशको रक्षा गर्नु अधिकार भएकाले प्रतिरक्षाका लागि आफूले निर्माण गरेका परमाणु हतियारलाई जायज र आफ्नो अधिकार क्षेत्रको कुरा भएको बताउँदै आएको छ । केसीएनएले लेखेको छ, ‘हामीसँग शक्तिशाली परमाणु हतियार हुनु विल्कुल ठीक हो र आफूलाई रक्षा गर्नमा सही कदम पनि हो । हामीले यो कदम देशको स्वायत्तताका लागि उठाएका हौं ।

अमेरिकाको दबाब र मनोमानीबाट देशलाई बचाउनु हाम्रो अधिकार हो ।’ कोरियाली युद्धले उत्तर कोरियाली आम जनतासम्म पनि गहिरो छाप परेको छ । जहाँ उत्तर कोरियाली उद्योग र सहरको विनाशका साथै ठूलो मात्रामा जनधनको क्षति भएको थियो । जसमा उत्तर कोरियालीले आज पनि अमेरिकालाई नै जिम्मेवार मान्छन् । केसीएनएले हालै प्रकाशित गरेको एक लेखमा भनिएको छ, ‘यदि डीपीआरकेले आफ्नो रक्षाका लागि परमाणु हतियार हासिल गर्ने बाटो छाडेर अमेरिकी र अन्य शक्ति राष्ट्रको दबाब र प्रलोभनसामु घुडा टेक्ने हो भने हाम्रो हालत इराक, लिबिया र अफगानिस्तानभन्दा खराब हुनेछ ।’ पछिल्ला केही समयदेखि अमेरिकाले जमिन, जल र वायु सैनिक अभियानलाई तीव्र बनाउँदै परमाणु युद्धलाई लिएर शक्तिको होडमा लागेको छ र वास्तविक युद्धलाई निम्ता दिइरहेको संकेत गरेको छ । प्योङयाङले सन् १९५० मा पनि कोरियाली युद्ध उत्तर कोरिया दक्षिण कोरियामा प्रवेश गरेर नभई अमेरिकाले सुरु गरेको दाबी गर्दै अब उसले उत्तर कोरियामाथि आक्रमण गरेमा त्यो उसकै लागि प्रत्युत्पादक हुने बताउँदै आएको छ ।

उत्तर कोरिया प्राविधिक रूपमा अघि

अन्तर्रा्ष्ट्रिय नाकाबन्दी र प्रतिबन्धको कुनै वास्ता नै नगरी उत्तर कोरिया आफ्ना गतिविधिलाई निरन्तर अघि बढाइरहेको छ । यसलाई अमेरिकासहितका पश्चिमा राष्ट्रले उत्तर कोरियाको परमाणु र मिसाइलका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको जनाएका छन् । एक स्वतन्त्र देशका रूपमा अस्तित्वमा आउन खोज्दै गर्दादेखि नै अमेरिकी हमलाको सिकार भएको उत्तर कोरियालाई निःशस्त्रीकरण गर्ने पश्चिमा राष्ट्रको योजना सफल हुन सकेको छैन । उसले स्याटेलाइट, क्षेप्यास्त्र, परमाणु बमदेखि परमाणु बम लिएर जाने अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलसमेतको सफल परीक्षण गरिसकेको छ ।
उत्तर कोरियाले आफ्नो आणविक क्षमतालाई तीव्र रूपमा विकास गरिरहेका बेला अमेरिकामा पनि डोनाल्ड ट्रम्प जस्ता अनुभवविहीन राष्ट्रपति सत्ता सम्हाल्न आइपुगेका छन् । कतिपयले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा पुग्नु इतिहासको दुर्घटना भएको टिप्पणी गर्न थालेका छन् । उत्तर कोरियाले आफूलाई परमाणु लैस बनाउँदै लगेको बेला ट्रम्प प्रशासनको विदेश नीति लथालिंग र भद्रगोल देखिएकाले पनि ट्रम्पमाथि यस्तो टिप्पणी भएको हो ।

उत्तर कोरियाबारे ट्रम्पले गरेका ट्विटले उनको अनुभवहीनता महसुस गर्न सकिन्छ । उत्तर कोरियाको परमाणु कार्यक्रमले भन्दा ट्रम्प प्रशासनको रबैयाले सबैभन्दा बढी चिन्ता थपिदिएको छ । ट्रम्प प्रशासनको वास्तविक नीति के हो र अमेरिकी विदेश नीतिका वास्तविक प्रतिनिधि को हुन् भन्ने बारे विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । किनकि ट्रम्पले विदेश नीतिका सम्बन्धमा पटकपटक अस्पष्टता दर्साइसकेका छन् । उत्तर कोरियासँग पछिल्लो समयमा चलेका वाक्युद्धले भने अब उत्तर कोरिया पनि ट्रम्प प्रशासनलाई जवाफ दिन सक्छ भन्ने देखाएको छ । यस्तो अवस्थामा हालै अमेरिकी प्रस्तावमा राष्ट्र संघमार्फत उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाइएको छ भने यस इलाकामा अमेरिकी सैनिकको उपस्थिति पहिलेदेखि नै रहिआएको हो । केही समयअघि उसले दक्षिण कोरियामा थाड एन्टी मिसाइल सिस्टमसमेत जडान गरिसकेको छ ।

अमेरिका आवश्यकता परेमा युद्धमा उत्रिन पनि सक्छ । तर उसले उत्तर कोरियाली सत्तामा परिवर्तन नल्याउनन्जेलसम्म यसलाई आफ्नो नियन्त्रणमा ल्याउन सकिन्न भन्ने राम्ररी बुझेको छ । तर उत्तर कोरियाली शासन सत्तामा परिवर्तन ल्याउने गरी अमेरिकालाई यस क्षेत्रमा घुस्न सजिलो छैन । कोरियाली प्रायद्वीपमा हुने कुनै पनि खतराका समयमा चीनको उपस्थिति अमेरिकाका लागि सबैभन्दा ठूलो चुनौती हो । गत साता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको थियो । जसमा चीन, रुस जस्ता देशले समेत समर्थन दिँदै उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न आग्रह गरेका छन् । यद्यपि उत्तर कोरियालाई काबुमा राख्न त्यति सजिलो हुनेछैन । उत्तर कोरियालाई जबर्जस्त काबुमा राख्ने प्रयास गर्दा भिडन्तको खतरा पनि उत्तिकै छ । यस्तो अवस्थामा कूटनीतिको निकै ठूलो भूमिका हुन्छ । तर उत्तर कोरिया पछिल्लो समयमा निकै व्यवस्थित देखिने गरेको छ भने ट्रम्प प्रशासन अनिश्चितताको अवस्थामा छ । जब कि अमेरिकी प्रशासन निकै व्यवस्थित हुँदा पनि उत्तर कोरियालाई कूटनीतिक रूपमा झुकाउने प्रयास सफल हुन सकेको थिएन ।

 चीन चुप बस्दैन

उत्तर कोरियामाथिको हालैको प्रतिबन्धमा समर्थन जनाए पनि चीन उत्तरको सबैभन्दा नजिकको छिमेकी मुलुक हो । उत्तर कोरियाका लागि अमेरिका जति खतरा हो, चीनका लागि पनि त्यतिकै खतरा हो । तर चीनले पछिल्लो केही दशकदेखि गरेको तीव्र विकास र अमेरिकालाई समेत उछिनेर पहिलो शक्तिका रूपमा उदाउन लागेकाले अमेरिकाले चीनमाथि हस्तक्षेप गर्ने सम्भावना देखिँदैन । तर चीनलाई कमजोर बनाउने खेल लामो समयदेखि खेल्दै आएको छ । यसकारण पनि उत्तर कोरियामाथि आक्रमण भई अमेरिकी प्रभाव बढ्नु भनेको चीनका लागि समेत खतरा हो । त्यसकारण चीन वर्तमान उत्तर कोरियाली शासनमा कुनै प्रकारको फेरबदल चाहँदैन । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले अमेरिकाविरुद्ध उत्तर कोरियाले हमला गरेमा चीन तटस्थ बस्नुपर्ने तर उत्तर कोरियामा सत्ता परिवर्तनको उद्देश्यले आक्रमण गरेमा चीन चुप लागेर बस्न नहुने स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक धारणा ल्याउने मिडियाका रूपमा रहेको ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनको हित प्रभावित हुने गरी उत्तर कोरियामा हुने परिवर्तनलाई स्वीकार गर्नुहुँदैन ।’ यसको अर्थ उत्तर कोरियामाथि अमेरिकाले कुनै पनि हस्तक्षेप गर्न खोजेमा चीन उत्तर कोरियाको रक्षार्थ मैदानमा उत्रिनेछ । ग्लोबल टाइम्सले हालसम्म अमेरिका र उत्तर कोरियाको तनावमा चीनले दुवैको पक्षमा केही नबोले पनि चीनको हित खतरामा पर्ने अवस्थामा त्यसको कठोर जवाफ दिने स्पष्ट गरेको छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन कोरियाली प्रायद्वीपमा युद्ध र दुवैतर्फबाट हुने परमाणु प्रसारको विरोध गर्छ । चीनले कुनै पनि पक्षबाट हुने सैन्य टकरावको पक्ष लिँदैन । जो उत्तर कोरियामा सत्ता परिवर्तन गरेर चीनको हितलाई प्रभावित गर्न चाहन्छ, उसले भने कडा जवाफ पाउनेछ । कोरियाली प्रायद्वीपमा सबै पक्षको सामरिक हित जोडिएकाले प्रभुत्व जमाउन कोसिस नगरियोस् ।’

अन्त्यमा, उत्तर कोरियाले प्यासिफिक क्षेत्रको द्वीप गुआममा मिसाइल हमला गर्ने चेतावनी दिएपछि दुई देशबीचको तनाव त उत्कर्षमा पुगेको छ नै यसले एसियाली क्षेत्रमा नयाँ विध्वंसलाई निम्ता दिएको अनुभूतिसमेत गराउन थालेको छ । हाल विश्व परमाणु हतियारविहीन छैन, एसियामा नै चीन, भारत, पाकिस्तानजस्ता आणविक शक्ति राष्ट्र छन् भने रुस, उत्तर कोरिया, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता घोषित र इजरायल अघोषित रूपमा परमाणु हतियार सम्पन्न राष्ट्र हो । यसर्थ विश्वमा पहिले परमाणु हतियारको व्यवस्थापन र प्रयोग गर्न नदिने अवस्थाको सिर्जना गरिनु पहिलो प्राथमिकता हो ।
उत्तर कोरियाले हाल आफू परमाणु शक्ति राष्ट्र भएको बताउँदै आएको छ । उसले बारम्बार आफ्नो सुरक्षाका लागि परमाणु हतियारको विकास गरेको बताउने गरेका कारण पनि उसलाई परमाणु शक्ति राष्ट्रका रूपमा स्वीकार गर्नुका साथै सुरक्षाको प्रत्याभूति दिलाउनु आवश्यक छ । उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धलाई आफ्नो सम्प्रभुतामाथिको आक्रमणका रूपमा लिने गरेको छ । कुनै पनि राष्ट्रमाथि हमला या ध्वस्त बनाउने चेतावनी दिइनुले यस्ता हतियारको विकासमा प्रोत्साहन दिने गर्दछ । उत्तर कोरियालाई परमाणु कार्यक्रमबाट पछि हटाउन सुरक्षाको प्रत्याभूतिसहित सरोकारवाला राष्ट्रको संयुक्त वार्ता आवश्यकता छ । जसका लागि क्षेत्रीय संगठनहरू र संयुक्त राष्ट्रसंघको मुख्य भूमिका रहन्छ ।

राजधानी दैनिक

 

विशेष