News

‘उच्च शिक्षा मेला’ मा युवाको घुइँचो

‘उच्च शिक्षा मेला’ मा युवाको घुइँचो

काठमाडौँ । ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित आजदेखि काठमाडौँमा ‘ नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको सो मेलाको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै उच्च शिक्षाको गुणस्तरलाई सुधार गर्न सरकार प्रयाशरत रहेको र त्यसमा सफलता नजिक रहेको बताए ।

उनले उच्च शिक्षाका लागि विदेशको पढाइ मात्रै राम्रो भन्ने भ्रमलाई चिर्दै नेपालको पढाइ पनि उत्कृष्ट छ भन्ने सन्देश दिन नेपालका विश्वविद्यालय र कलेजले थप मेहनत गर्नुपर्नेमा जोड दिए । यस्तो मेला सरकार र विश्वविद्यालय आफैले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उनले निजी क्षेत्रबाट भए पनि प्रयास सुरु भएकोमा यसको सराहना गरे ।

मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी रहेको आयोजक एजुकेशन डटकमका निर्देशक तारामान रावलले जानकारी दिए । उनका अनुसार मेलामा अध्यापन गर्ने विषय, शुल्क, छात्रवृत्ति, परामर्श लगायतका सेवा प्रदान गरिने छ । नेपालका कलेजले पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सक्षम रहेको तथा विद्यार्थीलाई स्वदेशमा नै शिक्षा लिनुपर्ने सन्देशका साथ मेला आयोजना गरेको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजले मेलामा सहभागिता जनाएका छन् । ती विश्वविद्यालयबाट सञ्चालित स्नातक र स्नातकोत्तर तहको पढाइबारे जानकारी गराइने आयोजकले बताएका छन् ।

विशेष गरी बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिटिटिएम, बिबिएम, बिएचसिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सीसिएसआइटी, बिडेभ्सलगायत कोर्ष पढ्न चाहनेले मेलाबाट लाभान्वित हुनेछन् ।

मेलामा विद्यार्थीलाई मात्र नभई अभिभावकलाई समेत परामर्श दिने व्यवस्था मिलाइएको छ । मेलामा स्नातक र स्नाकोत्तरमा विभिन्न विषय पढ्नका लागि जानकारी र परामर्श लिने युवाको बाक्लो उपस्थिति रहेको छ । भोलीसम्म चल्ने मेलामा निःशुल्क प्रवेश दिने व्यवस्था छ । रासस

विशेष