News

भारतले चाहेर पनि कोशी ब्यारेजको ढोका बन्द गर्न सक्दैन, कोशी ब्यारेजले खतरा उत्पन्न गरेकै छैन

भारतले चाहेर पनि कोशी ब्यारेजको ढोका बन्द गर्न सक्दैन, कोशी ब्यारेजले खतरा उत्पन्न गरेकै छैन

साउन २९ । कोशी ब्यारेजको ढोका खोल्न कुटनीतिक पहल गरेको खबर शनिबार साँझ फैलियो । परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले पनि भारतसँग कुटनीतिक सम्पर्क गरेको कुरा सार्वजनिक भएको छ । कोशी ब्यारेज नेपाली भूमिमा छ । तर चाबी भारतको हातमा छ । यसकारण भारतले ढोका नखोलेर नेपाल डुबाउँदैछ भनेर पनि टिप्पणी भइरहेको छ ।

खासमा शनिबार कोशीमा पानी २ लाख ८० हजार क्यूसेक थियो । आज आइतबार पानीको सतह घटेर २ लाख ४९ हजार पुगिसकेको सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले जानकारी दिए । पानी जति सुकै भए पनि कोशी ब्यारेजबाट गाडी चलाउन सकिन्छ । त्यतिमात्रै होइन यो पुल यति धेरै बलियो गरी बनाइएको छ कि भारतले अहिले नै अरु ढोका पनि बन्द गर्यो भने पनि पानीको सहत बढेर पुल माथीबाट पानी बग्छ । तर पुल भत्किदैन ।

तर ढोका थुनेर नेपालतिर पानी धेरै जम्मा गरियो भने ६४ सालमा जस्तै कोशीको तटबन्ध भत्किन सक्छ । त्यस्तो हुँदा नेपालमा त क्षति अवश्यम्भावी हुन्छ, बिहारको त काल नै बनेर कोशी उर्लिन्छ । कोशी ब्यारेजको ढोका भारतले चाहेर पनि बन्द गर्न सक्दैन । अर्का कुरा कोशी ब्यारेज नेपाली भूमिमा भए पनि त्यहाँबाट २–३ सय मिटर दक्षिणबाटै भारत सुरु हुन्छ । अर्थात सीमैमा छ कोशीको पुल ।

राष्ट्रघाती सम्झौता गरेर कोशीको रेगुलेसन भारतलाई दिइयो भनेर अहिले धेरै आलोचना भइरहेको छ । खासमा अहिलेको डुबान कोशी ब्यारेजका कारण भएको होइन । अविरल वर्षाका कारण डुबान भएको हो ।

विशेष