News मुख्य समाचार

देशभरमा बाढी पहिरोमा परि ५१ जनाको ज्यान गयो, १२ बेपत्ता

देशभरमा बाढी पहिरोमा परि ५१ जनाको ज्यान गयो, १२ बेपत्ता

काठमाडौं । लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ५१ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।

आज बिहानसम्म मलुकका १३ जिल्लाहरु पाँचथर, सिन्धुली, मोरङ, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर, सुर्खेत, रौतहट र पाल्पामागरी ५१ जनाको मृत्यु भएको गृहमन्त्रलायले जनाएको छ ।

मन्त्रालयले बाढीपीडितहरुको खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेकालाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुलगायत सबैमा अपिल गरेको छ ।

नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ–आफनो तर्फबाट उच्च सतर्कता अपनाउन पनि गृहले अपिल गरेको छ । खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको गृहमन्त्रालयले बताएको छ ।

बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो ।

राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताउनुभयो । मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् ।

जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीय आरजु आलमले बताउनुभयो ।

पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।

सुर्खेतको गुर्भाकोटमा ३ जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती विक्रम बुढा र १२ वर्षीय सरन बुढा छन् । गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार बिहान निकालेको थियो ।

यता, रत्नराजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सवारी आवगमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो। सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास बिहानैबाट सुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

बाढीपहिरोले देशभरको जनजीवन कष्टपूर्ण

बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

तराईका अधिकांश जिल्लामा सडक बगाउँदा यातायात अवरुद्ध भएको छ भने खानेपानी, बिजुली, टेलिफोन सेवाहरु अवरुद्ध भएका छन् । बाढीका कारण पुर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, धनुषा, बारा, नवलपरासी, दाङ लगायत जिल्लाका हजारौं घर डुबानमा परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

विशेष