आज किन मोबाइल सेवामा समस्या आयो ? कारण यस्तो छ
काठमाडौं । भारी वर्षासँगै आएको बाढी पहिरोका कारण आइतबार मुलुकभरको टेलिफोन सेवा प्रभावित भएको छ । फोन नलाग्ने, लागेपनि आवाज नसुन्ने, एसएमएस पनि नजाने लगायतका समस्या देखिएका छन् । समस्या समाधानका लागि पहल भइरहेको छ ।
सरकारी तथा निजी सेवा प्रदायक कम्पनीको फोन र एसएमएस दुबै सेवामा यसको प्रभाव देखिएको छ । जसले सेवाग्राहीहरु मारमा परेका छन् ।
नेपाल टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले बाढी पहिरोका कारण बिटीएस टावर र विद्युत आपूर्ति अवरुद्ध भएकाले टेलिफोन सेवा प्रभावित भएको र खासगरी पूर्वी क्षेत्रमा यसको प्रभाव बढी परेको बताए । उनले अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको र विद्युतका वैकल्पिक स्रोत सोलार, ब्याट्री र जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले सेवा सुचारु गर्न कठिन भएको पनि बताए ।
‘टेलिफोन सेवा सुचारु गराउन प्राविधिक टिम खटाइसकिएको र चाँडै यो समस्या समाधान हुने उनको भनाइ थियो ।