News

विपद्को बेला एक भएर सामना गर्नुपर्छः गृहमन्त्री

विपद्को बेला एक भएर सामना गर्नुपर्छः गृहमन्त्री

भद्रपुर । गृहमन्त्री जनार्दन शर्माले मुलुकमा विपद् परेका बेलामा एक भएर सामना गर्नुपर्ने बताएका छन् । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्रको आज निरीक्षण गरेपछि चन्द्रगढीमा उनले बाढीपीडितलाई खाना र औषधि उपलब्ध गराउन आवश्यक तयारी गरिएको बताए ।

भारी वर्षाका कारण आएको विपत्ति र मुलुकमा उपलब्ध स्रोत साधनमा ठूलो अन्तर भएकाले व्यवस्थापनमा केही समस्या देखिएको गृहमन्त्रीले उल्लेख गरे । उनले विपद्मा परेका व्यक्तिको उद्धार एवं राहतमा सक्रिय सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवादसमेत दिए ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बाढीका कारण तीन जनाको ज्यान गएको, सात जना बेपत्ता भएको जानकारी गराउनुभयो । उहाँले एक हजार २४९ व्यक्ति र एक हजार १६९ परिवार प्रत्यक्ष प्रभावित भएको, तीन जनाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको र विस्थापित परिवारलाई आवास र खानाको प्रबन्ध मिलाइएको बताए । भद्रपुरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उनले झापाका डुबानग्रस्त क्षेत्रको अवलोकन गरेर आजै राजधानी फर्के । 

विशेष