News

दुई दिनदेखि कैदी बन्दी भोकै

दुई दिनदेखि कैदी बन्दी भोकै

बर्दिवास । महोत्तरी कारागारका कैदी बन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि नै कैदी बन्दीले खाना नपाएका हुन् । रातु र बिगही नदीमा आएको बाढी बाँध भत्काउँदै जलेश्वर नगर पसेसँगै गहिरो ठाउँमा रहेको कारागार परिसरमा पाँच फिट पानी पसेको हो ।

बाढी कैदी थुनुवा कक्षमा पस्नासाथै आफूहरुलाई माथिल्लो तल्लामा सारिए पनि खाना पकाउने ठाउँ र सामग्रीको अभाव भएकाले दुई दिनदेखि भोकभोकै बस्नु परेको कारागारका चौकीदारसमेत रहेका कैदी श्रीनारायण महतोले बताए ।

जम्मा १३५ कैदी राख्ने क्षमताको सो कारागारमा अहिले महिला कक्षमा आश्रित दुई बालबालिकासहित ४२ र पुरुष कक्षमा ३६० सहित जम्मा ४०२ जना कैदी बन्दी छन् । भुइँ तल्लामा रहेका कैदी बन्दीलाई माथिल्लो तल्लामा लैजाँदा उभिने ठाउँसम्म पाउन पनि कठिन भएको महिला कैदी ललिता सिंहले बताइन ।

भुइँ तल्लामा पानी जमेपछि कैदी बन्दीलाई शौचालय जानसमेत समस्या परको बताइएको छ । आफूहरु दुई दिनदेखि भोकभोकै रहँदा पनि कोही सोधखोज गर्न नआएको कैदी थुनुवाले गुनासो गरेका छन् ।

कारागारमा पसेको बाढीले कार्यालयका सबै अभिलेख भिजेर नष्ट भएको कारागार प्रशासनले जनाएको छ । बाढीले पुर्याएको क्षति र कैदी थुनुवाको अवस्थाबारे स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा जानकारी गराइएपनि अहिलेसम्म केही व्यवस्था हुन नसकेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए ।

यसैगरी महोत्तरी जिल्लाको जलेश्वर–२ मा १४ वर्षीय किशोरको बाढीले बगाएर मृत्यु भएको छ । घरबाट पानी ल्याउन चापाकल भएको ठाउँमा जाँदै गर्दा भेलमा बगेर सो बस्तीका रामकुमार ठाकुरका छोरा १४ वर्षीय विक्की ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

विशेष