बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली
काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएको छ ।
सुनसरी, सिन्धुली, बाँके, झापा, मोरङ, बारा, सप्तरी, सर्लाही, दाङ, पाल्पा, बर्दिया, मकवानपुरलगायतका जिल्लामा गरी अहिलेसम्म कम्तिमा ३५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
पूर्वी तराईका अधिकांश स्थान डुवानमा परेका छन् । सयौं घर वस्ती डुवानमा पर्दा हजारौंको विचल्ली भएको छ । सयौं विघा जमिन र बालीनालीमा पनि क्षति पुगेको छ । बाढीमा परेर कयौं बेपत्ता भएका छन् ।
सुनसरीमा ७, सिन्धुलीमा ४, झापामा ४, मोरङमा ४, बाँकेमा ३, पाँचथरमा ३, सर्लाहीमा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी बारामा २, दाङमा २, पाल्पा, बर्दिया र मकवानपुरमा पनि एक–एक जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्ण रुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदी पारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।
सुनसरीको इटहरीस्थित बुढी खोलामा आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–४ गैरीगाउँको बस्तीमा एक महिला र तीन बालबालिकाको शव खोलाबाहिर निकालिएको छ भने बूढी पुलको दक्षिण इटहरी–९ को सुकुम्वासी बस्तीबाट पनि तीन वटा शव बाहिर निकालिएको छ ।
अरु धेरै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् । त्यस आसपासका क्षेत्रमा पनि अन्य शव फेला पर्ने जारी रहको र धेरै मानिसको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ ।
बूढीखोलाको बाढीले गैरी गाउँको ३० तथा दक्षिणमा रहेको मुसहर वस्तीका पनि एक दर्जन बढी घर बगाएको छ । बस्ती पुरै जोखिमामा रहेकाले त्यहाँ उच्च सुरक्षा सतर्ककताका साथ सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पीडितहरुलाई उद्दार गरी श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा बस्ने र खाने ब्यवस्था मिलाइएको छ ।
इटहरीको वडा नम्वर ४, ५, ६, ९ जलमग्न बनेका छन् भने नेपाली सेनाको पूवी पृतनानजिक रहेको खेतीखोलामा आएको बाढीले धरान इटहरी सडक खण्डको कल्भर्टमा नोक्सानी पु¥याएकाले धरान इटहरी सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ