News

खोज, उद्धार, राहत कार्यमा सक्रिय : रेडक्रश सोसाइटी

खोज, उद्धार, राहत कार्यमा सक्रिय : रेडक्रश सोसाइटी

काठमाडौँ । अविरल वर्षा तथा बाढी पहिरोको विपत्तिमा नेपाल रेडक्रश सोसाइटीले आफ्ना प्राथमिक उपचारक, रेस्पोन्स स्वयंसेवक, खोज, उद्धार तथा राहत वितरण कार्यमा अनवरतरुपमा जुटिरहेको जनाएको छ । ।

झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, सप्तरी, बाँके, धनुषा, बर्दिया, सिन्धुली, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, ललितपुरलगायतका बाढी तथा पहिरोबाट बढी प्रभावित स्थानमा स्थानीय पाँच हजार रेडक्रशका स्वयंसेवक तल्लिन रहेका सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए ।

सोसाइटीका अनुसार हालसम्म ती जिल्लामा ६६ जनाको मृत्यु, ५० जना हराइरहेका, ४४ घाइते भएका, दुई हजारभन्दा बढी परिवार विस्थापित र १९ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । उनले आपत्कालीन अवस्थामा आफ्नो जीवन रक्षा गर्न, आफू सुरक्षित भई बस्ने स्थानको प्रबन्ध मिलाउन, पिउने पानी र स्वास्थ्यको ख्याल गर्न, बृद्ध तथा बालबालिकाको संरक्षणमा विशेष ख्याल गर्न आग्रह समेत गरे ।

बाढी पहिरोबाट हालसम्म ३० जिल्ला बढी प्रभावित रहेका र ती मध्ये १७ जिल्ला बढी प्रभावित बनेका छन् । बढी प्रभावित र प्रभावित जिल्लामा अस्थायी बसोबास गर्न तारपोलियन, तयारी, खाना, पानी शुद्धीकरणका औषधि, प्राथमिक उपचारलगायतका अत्यावश्यक राहत वितरण कार्य भइरहेको सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिए ।

उनले सोसाइटीले केन्द्रमा आपत्कालीन आपरेशन केन्द्रलाई सक्रिय बनाइएको र जिल्लास्थित आफ्ना शाखालाई उच्च प्राथमिकताका साथ बाढी पहिरोपीडित खोज, उद्धार र राहत वितरणमा जुट्न निर्देशन दिइएको बताए ।

त्यसैगरी सोसाइटीले विपद्को पूर्व तयारीमा सचेत रहन स्थानीय समुदायलाई आह्वान गर्दै जिल्लास्थित विपद् व्यवस्थापन समितिसित समन्वय गरी आफ्ना आपत्कालीन टोलीलाई थप सक्रियसमेत बनाएको छ ।

सोसाइटीले बाढी पहिरो प्रभावितका खोज उद्धारमा प्रतिकूल मौसम हुँदाहुँदै पनि आफ्ना स्वयंसेवक जुटिरहेका जनाएको छ । साथै आफ्ना क्षेत्रीय गोदाम, जिल्लाका गोदाममा रहेका गैरखाद्य सामग्री बाढीपीडितलाई वितरण भइरहेको जनाएको छ ।

विशेष